काठमाडौं, ३ फागुन । प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरु निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको स्थानको अवलोकनमा गएका छन् । समिति सभापति पवित्रा निरौला (खरेल) को नेतृत्वमा सांसदहरुको टोली आज निजगढ प्रस्थान गरेको हो ।
पछिल्लो समय निजगढ विमानस्थल निर्माण गर्ने विषयलाई लिएर ठूलो बहसको विषय बनेको छ। खासगरी रुख कटानको विषयले विमानस्थल निर्माण गर्न अवरोध सिर्जना भएको कुरा आएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले, वनमन्त्री रामसाहय राय र श्रममन्त्री कृष्णकुमार श्रेष्ठपनि अनुगमनमा गएका छन् । पर्यटनमन्त्रालयका सचिव महेश्वर न्यौपाने र विभागका डिजीहरु पनि टोलीमा समावेश छन् ।
समितिका सदस्यहरु माधवकुमार नेपाल, रामचन्द्र पौडेल, दिपकप्रकाश बाँस्कोटा, प्रेमप्रसाद तुलाचन र दिव्यमणि राजभण्डारीलगायतका सांसदहरु टोलीमा समावेश छन् । उनीहरु बाराको सिमरा एयरपोर्ट ओर्लिएर सिधै निजगढतर्फ प्रस्थान गरेका छन् । टोलीमा सहभागी एमाले सांसद प्रेमप्रसाद तुलाचनले आज विमानस्थल बन्ने स्थानको अवलोकन गरिने जानकारी दिए ।
उनले भने,‘निजगढ विमानस्थल निर्माण गर्ने कुरामा समितिमा छलफल भएअनुसार आज हामी यसको विस्तृत अध्ययन र अगुमन गरेर रिपोर्ट तयार पार्नेगरि हिँडेका छौं ।’ मधेश प्रदेश सरकारका मन्त्रीयहरु पनि टोलीमा सहहभागी रहेको उनले जनाए ।