क्यालिफोर्निया, ८ फागुन । क्यालिफोर्नियाको सुन्दर शहर सन् फ्रान्सिस्कोमा नेपाली नयां वर्षको अवसरमा ९ अप्रिल २०२२ का दिन ‘नेपाल डे परेड’ हुने भएको छ। गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका अन्तरर्गतको पश्चिम क्षेत्र र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुसंगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो।
परेड सन् फ्रान्सिस्को डाउनटाउनमा रहेको फेरी बिल्डिंगबाट सुरु भएर सिभिक सेन्टर नजिकै रहेको यु एन प्लाजामा गएर कोण सभामा परिणत हुने एन आर एन ए क्यालिफोर्निया च्याप्टरका सचिव हरी ओझाले जानकारी दिए । “सिटीसंग पर्मिट लिने काम अन्तिम चरणमा पुगेको छ र केही दिनमै पर्मिट आईसक्छ” ओझाले भने ।
कार्यक्रमको मूल आयोजक समितीको संयोजक समेत रहेका एन आर एन ए अमेरीका, वेष्ट कोष्ट रिजनका संयोजक राम थापाका अनुसार परेडमा पांच हजारको हाराहरीमा सहभागीता रहनेछ। यो कार्यक्रममा विभिन्न स्थानीय संघ संस्थाहरुको प्रत्यक्ष सहभागिता रहनेछ भने विभिन्न जातजातिका भेषभुषा र झांकी समेत प्रस्तुत गरिने छ। परेडमा लाखे नाच गरिने र पन्चे बाजासमेत बजाईने कुरा थापाले जानकारी दिए । परेड पछि अप्रिल ९ तारीखकै सांझ भव्य सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। उक्त सांस्कृतिक कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका लागी प्रयास भईरहेको र स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रमले नेपाल देश, नेपाली भाषा, कला र संस्कृतिलाई परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ। कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता पर्ने हुनाले सबैको सहभागीताका लागी एन आर एन ए, एन सि सि अमेरीका वेष्ट कोष्ट रिजन र क्यालिफोर्निया च्याप्टरले सबै समक्ष आव्हान गरेको छ।