Logo

एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नारायणकाजी श्रेष्ठ



काठमाडौं, ८ फागुन : नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको थियो । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् । ‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ,’ न्युज कारखानासँग श्रेष्ठले भने ।

उता, फेशबुकमार्फत श्रेष्ठले राष्ट्रिय सार्भौमिकता, स्वाधीनता र हितको रक्षा गर्न सबैलाई एकजुट हुन आग्रह गरेका छन् । उनले भनेका छन्–”हाम्रा पुर्खाहरुले संसारमा साम्राज्यवाद र उपनिवेशवादको जगजगी भएको र हाम्रा सबैजसो छिमेकीहरु उपनिवेश बनेको अवस्थामा पनि हाम्रो भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्नुभयो । त्यसैले आज हामी कहिले कसैको प्रत्यक्ष उपनिवेश नबनेको सार्वभौमसत्तासम्पन्न मुलुकको जनता हुन पाएकोमा गौरवान्वित अवस्थामा छौं । तर हाम्रो राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता माथि यतिबेला गम्भीर चुनौति र संकट उत्पन्न भएको छ ।सम्पुर्ण देशभक्त शक्तिहरु एक्जुट होऔं र राष्ट्रिय सार्भौमिकता ,स्वाधीनता र हितको रक्षा गरौं ।”



प्रतिक्रिया दिनुहोस्