Logo

एमसीसी अड्काएर गठबन्धन जोगाउने पहल



काठमाडौं, १० फागुन । सत्ता गठबन्धन पनि टिकाउने एमसीसीको पनि व्यवस्थापन गर्ने । सत्तारुढ दलहरुका मध्यमार्गी नेताहरुले यस्तो प्रयास थालेका छन् ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धन जोगाउने गरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले प्रचण्ड र माधव नेपालसँग यसबारे कुराकानी गर्दै आएका छन् ।

माओवादी केन्द्रका कृष्णबहादुर महराको सक्रियता पनि बढेको छ । उनी पनि गठबन्धन जोगाउने गरी मध्यमार्गी बिन्दु तयार गर्न लागेका छन् ।
प्रचण्डले पौडेलसँगको भेटपछि एमसीसीको पनि निकास निकाल्ने र गठबन्धन पनि नटुट्ने पत्रकारहरुलाई बताएका थिए । उनी निकै ढुक्क भएर यस्तो बताइरहेका थिए ।

एमसीसी टेबल भइसकेकाले अड्काउने प्रयास भइरहेको छ । अमेरिकासँग कुरा गरेर केही समय थाती राख्ने प्रयास भइरहेको छ । तर, अमेरिका एमसीसी १६ फागुनभित्र टुंगो लगाउनुपर्ने पक्षमा अडिग छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल मध्यमार्गी बाटो खोज्ने प्रयासमा सक्रिय छन् । विश्वस्त स्रोतका अनुसार उनी एमसीसी केही समय अड्काउन प्रयासरत छन् । सदनमा टेबल भइसकेकाले विषयगत समितिमा लगेर अड्काउने प्रयास भइरहेको छ । यो असम्भव नभएपनि कठिन छ ।

माधव नेपालकै निर्णयमा एमसीसी टेबल सम्म भएको हो । तर, उनी पारित गर्ने पक्षमा छैनन् । निर्णयमा पुगेमा एमसीसी यथास्थितिमा पारित हुने सम्भावना न्यून छ । एमालेले एमसीसीबारे धारणा सार्वजनिक गरेको छैन । माओवादी र नेकपा एस पारित नगर्ने पक्षमा छन् । काँग्रेस मात्र एमसीसी पारित गर्न एकमत छ । जसपाभित्र पनि मतभेद छ । लोसपा एमसीसीको पक्षमा देखिएपनि यसै भन्न सकिने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्