काठमाडौं, १० फागुन । रुसले युक्रेनमा सेना पठाउने भएपछि युद्धको खतरा बढेको छ । युक्रेनमा ठूलै संकट आएपछि विश्वका धेरै देशहरुले आफ्ना नागरिकहरुलाई स्वदेश ल्याउने तयारी थालेका छन् ।
भारतले युक्रेनमा चिकित्साशास्त्र अध्ययनका लागि हजारौं विद्यार्थी पुगेको तथ्यांक निकालेको छ । उनीहरुलाई भारतले उद्धार गर्न लागेको छ ।
नेपालले पनि युक्रेनमा रहेका नेपालीको विवरण संकलन गर्न थालेको छ । परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा व्यापार व्यवसाय गरेर बसेका ३४ जना नेपालीबारे जानकारी प्राप्त भएको छ । थप नेपालीहरुबारे पनि जानकारी लिने क्रम रहेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले २ सयभन्दा बढी नेपाली युक्रेनमा रहेको आँकलनसहित विवरण संकलन गरिरहेको छ । ती नेपाली व्यवसाय, अध्ययन देखि यूरोपका अन्य मुलुक जाने क्रममा पुगेको बुझिएको छ । परराष्ट्र मन्त्रालयले जर्मनीस्थित दूतावासबाट युक्रेनमा नेपालीको विवरण संकलन गरिरहेको जनाएको छ ।
रुसले युक्रेनको दुई क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइसकेको छ । यसले युद्धको खतरा झन् बढेर गएको छ ।