काठमाडौं, फागुन ११ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दाहाललाई भेट्न विहानै खुमलटार पुगेका देउवाले एमसीसी पारित गर्नेबारे छलफल गरेका छन् ।
संसदमा एमसीसी टेबल भएपछि पारित गर्नका लागि पछिल्लो पटक प्रधानमन्त्री देउवा दौडधुपमा लागेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
एमसीसीका विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तालाई ‘जेन्टल एग्रिमेन्ट’ को दाबी गरिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक तथा वान टु वान भएको भेटवार्ता पछि आज प्रधानमन्त्री देउवा यस परियोजनालाई टुंगोमा पु–याउन सघाउन भन्दै खुमलटार पुगेका छन् ।.