काठमाडौं, फागुन १२ । देशभर २ सय १३ स्थानीय तह निमित्तकै भरमा चलेका छन्। संघीय मामिला मन्त्रालयले निमित्तको भरमा चलेका स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी पठाउन खोज्दा सम्बन्धित नगरपालिकारगाउँपालिकाका प्रमुखहरूले उल्टै कमसेकम असार मसान्तसम्म, त्यो नभए वैशाखसम्म नयाँ कर्मचारी पठाउन मन्त्रालयलाई दबाब दिने गरेको पाइएको छ।
आफ्नो तहमा कम्तीमा वैशाखसम्म निमित्त कर्मचारीकै भरमा स्थानीय तह चलाउन जनप्रतिनिधिले चाहना देखाएका छन्। यसका लागि उनीहरूले विभिन्न माध्यमबाट मन्त्रालयलाई दबाब दिने गरेको मन्त्रालयका एक सहसचिवले बताए।
‘चुनाव नजिकिएका बेला कार्यकाल सकिनै लागेका जनप्रतिनिधिले आफ्नो कार्यालयमा कमसेकम वैशाख महिनासम्म आफू अनुकूल कर्मचारी राख्न खोज्नुभएको छ,’ ती सहसचिवले भने, ‘आफ्नो कार्यालयमा हिसाब किताब फछर्यौट गर्न, नमिलेको हिसाब मिलाउन तथा आफूले चाहेको काम पूरा गर्न वैशाख महिनासम्म पुरानै कर्मचारी राख्ने उहाँहरूको चाहना हो।’
यता संघीय मामिला मन्त्रालयलाई रिक्त १ सय ४० स्थानीय तहमा भरखरै लोकसेवा आयोगबाट उत्तीर्ण भएका शाखा अधिकृत सरहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिृकतको नियुक्ति दिई स्थानीय तहमा पठाउने तयारी गरेको छ।
मन्त्रालयका उपसचिव तथा कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजंग थापाले १० दिनपछि १ सय ४० शाखा अधिकृतलाई विभिन्न स्थानीय तहमा पठाउने तयारी भएको बताए। उनका अनुसार स्थानीय तहमा पठाउनका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ९स्टाफ कलेज०ले अहिले उनीहरूलाई ३ हप्ते तालिम दिइरहेको छ। ‘यो हप्ता उहाँहरूको तालिम सकिन्छ र अर्को हप्ताबाट स्थानीय तहमा खटाउन सुरु गर्छौं,’ थापाले भने।
कर्मचारी भर्ना प्रक्रिया नरोक्न सर्वोच्चले आदेश दिएलगत्तै लोकसेवा आयोगले ४ सय ४४ जना शाखा अधिकृत छनोट गरेको छ। ती कर्मचारीलाई नयाँ नियुक्त गर्न आयोगले मन्त्रालयलाई सिफारिस गरेको छ। संघीय मामिला मन्त्रालयले ४ सय ४४ जना कर्मचारीमध्ये १ सय ४० जना कर्मचारी स्थानीय तहमा पठाई बाँकीलाई गृह, परराष्ट्र तथा भूमि व्यवस्थापन मन्त्रालयमा पठाउने तयारी गरेको छ। नागरिक दैनिकबाट