काठमाडौं, फागुन १३ । वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो ।
बिहीवार काठमाडौंमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले राखेको विद्युत् निर्यात प्रस्तावमा भारत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए ।
नेपाल विद्युत् प्राधिकरणबाट बिजुली निर्यात गर्न पेश गरिएका आवेदनहरूलाई आउँदो वर्षायाम अगाडि नै भारतले स्वीकृति प्रदान गर्ने सहमति भएको उनको भनाइ छ ।
यसले गर्दा वर्षामा खेर जाने विद्युत् भारत निर्यात सहज हुने अधिकारीहरूले दाबी गरेका छन् । हाल उत्पादन अनुसारको खपत हुन नसक्दा वर्षायाममा ५०० मेगावाट बराबर विद्युत् खेर जाने गरेको छ ।
यसअघि प्राधिकरणले भारतमा ३९ मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात गर्दै आएको छ । साथै, थप मेगावाट विद्युत् निर्यात गर्ने गरी प्राधिकरणले भारतलाई आवेदन दिएको छ । तर, त्यो आवेदन भारतले अझै स्वीकृत गरेको छैन । अब भने अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी नियमअनुसार छिट्टै स्वीकृति दिन भारत सहमत भएको चटौतले बताए ।
बुधवारदेखि शुरू भएको बैठकमा नेपाल र भारतका ऊर्जा सचिव तथा सहसचिवको उपस्थिति थियो । बैठकले नेपाल र भारतबीच मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अरुण–३ जलविद्युत् तथा प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात निर्यातलगायत विषयमा विभिन्न निर्णय गरेको छ ।
बैठकमा दुई देशबीच पहिलो अन्तरदेशीय ढल्केवर मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारण लाइनको क्षमता बढाई ६०० मेवासम्म निर्यात गर्न सक्ने बनाउने सहमति भएको छ । हाल उक्त प्रसारण लाइनबाट ३५० मेगावाट विद्युत् आयात निर्यात गर्न सकिन्छ । हेटौंडा–ढल्केवर–इनरुवा ४०० किलो भोल्ट प्रसारण लाइन डिसेम्बर २०२३ मा सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट आयात निर्यात हुने विद्युत् क्षमतासमेत थप बढाउने सहमति गरिएको छ ।
यसैगरी दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर ४०० किलो भोल्ट प्रसारण लाइनअन्तर्गत भारत खण्डको लाइन बनाउन आगामी अप्रिलमा संयुक्त ग्रीड कम्पनी स्थापना गर्ने सहमति भएको छ । आर्थिक अभियान दैनिकबाट