Logo

राष्ट्र बैंकले ल्यायो पुरानो र काम नलाग्ने नोट धुल्याउने मेसिन



काठमाडौं, १३ फागुन । गभर्नर महाप्रसाद अधिकारीले विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ गरेका छन् । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टमको अधिकारीले आज ‘स्वीच अन’ गरेर औपचारिक शुभारम्भ गरेका हुन् ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्पmत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको बैंकले जनाएको छ । सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण
उपलब्धि रहेको धारणा राखे ।

बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उनले दिए । साथै बीएसबीएसलाई व्यवस्थित
तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत अधिकारीले
दिएका थिए ।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत
व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे पनि प्रकाश पारेका थिए । सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा
राखे ।

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएकोथियो ।



प्रतिक्रिया दिनुहोस्