Logo

ओली देखाएर दाहाल र नेपाललाई गलाउने रणनीतिमा देउवा



काठमाडौं, फागुन १४ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ ।

विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ ।

प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट छ । तर, सत्तारूढ गठबन्धनका अन्य दलहरू एमसीसी सम्झौताको विपक्षीमा देखिएपछि प्रधानमन्त्री देउवाले सो दल र तिनका नेताहरूलाई एमसीसीको पक्षमा पार्न प्रमुख प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष ओलीसँग निकटता देखाउन थालेका हुन् ।

प्रधानमन्त्री देउवाले ओलीसँग सामीप्यता देखाएको जस्तो गरे पनि उनको भित्री चाहना भने सत्तारूढ गठबन्धनमार्फत नै एमसीसीमा सहमति खोजेर निकास निकाल्न सकियोस् भन्नेमा नै रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोही रणनीतिअनुसार नै तीन दिनदेखि ओलीसँग निरन्तर छलफल गर्दै आइरहेका छन् । ओलीसँग सामीप्यता देखाएर प्रचण्ड र नेपाललाई तर्साउने र गलाउने रणनीति उनले अख्तियार गरिरहेको बताइएको छ ।

गत दुई दिनको बीचमा देउवाले ओलीसँग तीनपटक वान टु वान वार्ता गरिसकेका छन् भने आपूmनिकट नेताहरूसहित एमालेका अध्यक्ष ओलीसहित अन्य नेतासँग पनि तीनपटकसम्म छलफल गरिसकेका छन् ।

तीनपटकसम्म छलफल गर्दा पनि उनीहरू बीच कुनै सहमति भने जुट्न सकेको छैन । यही दुई दिनको बीचमा देउवाले सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपाललाई पनि लगातार भेट्दै आइरहेका छन् ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओली सत्तागठबन्धन भत्काउने दाउमा छन् । त्यसैले पनि उनले एमसीसीमा आवश्यक सहयोग गर्न सकिने आश्वासन देउवालाई दिएका छन् । त्यसका लागि ओलीले संसद्मा आपूmहरूका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग गर्दै आइरहेका छन् । उनले माग गरेको उपयुक्त वातावरण भनेको सभामुखको राजीनामा वा उनीमाथि महाअभियोग लगाएर हटाउनु हो ।

यसैगरी ओलीले समाजवादीका १४ सांसदलाई हटाउनुपर्ने सर्त राखेका छन् । ओलीका यी सर्त पूरा गर्न देउवालाई निकै कठिन भएकाले उनी गठबन्धनलाई नै फकाएर वा गलाएर एमसीसी पारित गराउने सुरमा रहेको स्रोतको भनाइ छ । शुक्रबार गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रमुख नेताहरू एमसीसीप्रति केही सकारात्मक देखिएका छन् ।

सत्ताको प्रमुख दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएमा आपूmहरूको राजनीतिक अस्तित्व सकिने भयले उनीहरू त्यसलाई रोक्न एमसीसीमा सहमतिनजिक पुग्न थालेको स्रोतको दाबी छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्