चरीकोट, फागुन १४ । हिमाली जिल्ला दोलखाको बेदिङ पर्वतारोहीको गाउँ बनेको छ । यो गाउँका ६५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
गौरीशङ्कर गाउँपालिका–९ मा रहेको बेदिङ गाउँमा ८३ घरधुरी छन् र यहाँको जनसङ्ख्या ३११ छ । तर, यो गाउँका छ जना महिलासहित ६५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका आरोही दावाछिरी शेर्पाले जानकारी दिए ।
तीमध्ये नौ जनाको भने मृत्यु भइसकेको छ । स्थानीय मिङ्माछिरी शेर्पाले सबैभन्दा बढी २० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । त्यस्तै, पेमाछिरिङ शेर्पाले १९ पटक, निमागोम्बु शेर्पाले १८ पटक र दावाछिरीले १३ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
हिमाल आरोहणको अन्तर्राष्ट्रिय पथप्रदर्शकसमेत रहेका मिङ्माछिरी शेर्पाले बेदिङकै दावाटाँसी शेर्पा, पेम्बादोर्जे शेर्पा (ठूलो) र गेल्बु शेर्पा (मृत्यु भइसकेको)सहित सन् १९९७ मा नेपालबाट पहिलो पटक पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो शिखर केटुको समेत सफल आरोहण गरिसकेका छन्।
बेदिङकै मिङ्मागेल्जेन शेर्पा, दावातेन्जिङ शेर्पा र किलिपेम्बा शेर्पाले जाडो सिजनमा विश्वमै पहिलो पटक केटु हिमालको सफल आरोहण गरेको आरोही दावाछिरीले बताए। बेदिङ गाउँ च्छोरोल्पा हिमताल पदमार्गमा पर्छ । गोरखापत्र दैनिकबाट