काठमाडौं, फागुन १५ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाले अहिले बिहान साढे ११ बजे कार्यव्यवस्थाको बैठक आह्वान गरेका छन् ।
नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने बैठकले एमसिसी सम्झौता अनुमोदन र छलफलको कार्यतालिका निर्धारण गर्ने तयारी रहेको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले एमसिसीमा सैद्धान्तिक छलफलका विषयमा दलीय सहमति खोज्नेछन्।
सैद्धान्तिक छलफल सकिएपछि संशोधनको समय नहुने हुँदा आजै अर्को बैठक बसेर दफाबार छलफल गराउन सरकारले प्रस्ताव गर्ने सम्भावना छ। दफाबार छलफलमा पनि निश्चित सांसदलाई मात्र बोल्न दिएर आजै एमसिसी अनुमोदनका लागि प्रस्ताव गर्ने पनि सम्भावना छ।
एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबारसम्म एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने रणनीतिमा जुटेका छन्। अन्य राजनीतिक दल र सभामुख अग्निप्रसाद सापकोटा तयार भए कांग्रेस आजै एमसिसी सम्झौतालाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने पक्षमा रहेको जनाएको छ।
सरकार सदनबाट एमसिसी अनुमोदन भए पनि नभए पनि निर्णयार्थ पेस गर्ने तयारीमा छ। बैठकमा एमालेबाहेक अरु दलका प्रतिनिधिहरु सहभागी रहनेछन् ।