काठमाडौं, फागुन १६ । । अन्य प्रदेशमा बीमाको न्यून सहभागिता भएको अवस्थामा बागमती प्रदेशमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ छ । तर, बीमालेख भने त्यो भन्दा बढी अर्थात् ७३ लाख ४३ हजार ७८५ ओटा जारी भएको छ, जुन जनसंख्याको १२० दशमलव ७० प्रतिशत हो ।
समितिका अनुसार २०७८ माघ मसान्तसम्म बागमतीमा त्यो बराबरको बीमालेख जारी भएको छ । बीमा समितिले पहिलोपटक प्रदेशगत रूपमा बीमालेखको संख्या सार्वजनिक गरेको छ ।
अभिकर्ता र बीमा कम्पनीहरू राजधानीमा केन्द्रित छन्, यहाँ बसोवास गर्ने केही व्यक्तिहरूले २ पटकभन्दा बढी बीमालेख खरीद गरेका छन् । फलस्वरूप जनसंख्याभन्दा बढी बीमालेख देखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
अब कम्पनीहरूलाई अन्य प्रदेशमा बीमा गराउन प्रोत्साहन गरिने उनको भनाइ छ । यस विषयमा बीमा कम्पनीहरूको पनि ध्यान जानुपर्ने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट