काठमाडौं, १८ फागुन । प्रतिनिधि सभाको आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगलाई पेश गरिने तयारी गरिएको छ । महाभियोगको प्रस्ताव स्वभाविक ढंगले अगाडी बढाउने सरकारको चाहना भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले बताए ।
संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बडुले संसद नियमावलीको व्यवस्था अनुसार जबराविरुद्धको महाभियोग अगाडी बढ्ने स्पष्ट पारे । उनले भने,‘महाअभियोगको प्रस्ताव स्वभाविक ढंगले अगाडि बढोस् भन्ने सरकारको चाहना हो ।’ मन्त्री बडुले नियमावली अनुुसार प्रस्ताव दर्ता भएको ७ दिनपछि कुनै पनि बैठकमा राख्ने व्यवस्था रहेको उल्लेख गर्दै अबको प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेश हुने सम्भावना रहेको सुनाए ।
प्रतिनिधिसभा नियमावली अनुसार महाभियोग समिति गठन गर्ने विषयमा पनि सभामुखसँग छलफल भएको मन्त्री बडुले जानकारी दिए । सबै दलहरुको प्रतिनिधित्व होस् भन्ने ढंगले महाभियोगविरुद्ध छलफल भइरहेको उनको भनाई थियो ।
सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा ((एकिकृत समाजवादी)का ९८ जना सांसदहरुले गत फागुन १ गते जबराविरुद्ध महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका थिए ।