Logo

डा. राजन भट्टराईको प्रश्न : एमसीसी कार्यान्वयनमा जाँदा चार वर्षअघिको लागत र अबको लागत एउटै हुन्छ त ? (भिडिओसहित)



 ‘रुसले युक्रेनमाथि गरेको आक्रमण अनुचित छ’

काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीको विषयमा नेपालका केही राजनीतिक दल र यसका नेताहरुले अपरिपक्व व्यवहार देखाएको भन्दै यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालिन रुपमा लिएर जानको लागि ड्यामेज गरेको टिप्पणी गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसीको कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्नको लागि निकै समय लाग्ने स्पष्ट पारेका छन् । उनले भने,‘एमसीसीबारे राजनीति धेरै गिजोलियो, एमसीसी पारित भएपछि हाम्रो पार्टीको धारणा आईसकेको छ । अब यसमा धेरै व्याख्या गर्नुहुँदैन् । हामी पनि सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अविछिन्न सरकारको निरन्तरताको जिम्मेवारी महशुस गरेर अघि बढाउने काम गरेका थियौं, तर त्यतिवेलापनि यसलाई गिजोल्ने काम भयो । वैदेशिक सम्बन्धको विषयमा यो तहको विवाद भएको नेपालमा यो पहिलोपटक हो । अरनीको राजमार्ग बनाउँदापनि भएको थिएन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले सुरुमा एमसीसीको समर्थन गर्नेहरुले पछि यसलाई विरोध गरेको र विरोध गर्दागर्दै समर्थन गरेको भन्दै आश्चर्य प्रकट गरे । उनले भने,‘यहाँ अपरिपक्व खालको क्षमता देखाउने काम भयो । यो मुलुकको लागि अन्तर्राष्ट्रिय सम्बन्ध दीर्घकालिन रुपमा लिएर जानको लागि ड्यामेज गरेको छ । यसको कन्ट्रोल गरेर रिपेर गर्नको लागि निकै समय लाग्छ। एमसीसीको कारण भोलि कुनै देशले हामीसँग सम्झौता गर्दा उनीहरु सोच्ने अवस्थामा पुगेका छन् । समग्रतामा यसले ड्यामेज गरेको छ । यसमा जो जिम्मेवार हो, उनीहरुले यो जिम्मा लिनुपर्छ । यो पारित नै गर्नुथियो भने किन गिजोलियो त ? परियोजनाको कस्ट त बढ्ने होला । कार्यान्वयनमा जाँदा, चार वर्षअघिको लागत र अबको लागत एउटै हुन्छ त ? थप व्ययभार लाग्छ। यो कसले व्यहोर्छ ? हिजो जतिबेला सुरु गर्छौ भनेर सम्झौता गरेका थियौं, त्यो ढिलो भयो नि । अन्तिममा यही गर्नुथियो भने किन यति लामो समयसम्म विरोध भयो ? उनीहरुले नै अहिले यसको जिम्मेवारी लिनुपर्छ । अबको चूनौति भनेको कार्यान्वयनको कुरा हो, यसमा बढेको कष्ट कहाँबाट व्यहोर्ने ?’

उनले रसियाले युक्रेनमाथि गरेको आक्रमण अनुचित रहेको टिप्पणी गरे । उनले भने,‘रुसले युक्रेनमाथि जुन आक्रमण गरेको छ, यो अनुचित छ । जेसुकै कारण भएपनि यो आक्रमण गलत हो । २१औं शताब्दीमा यो आक्रमण र सैन्य हस्तक्षेप मान्न पनि सक्दैनौं । हामी अहस्तक्षेपको सिद्धान्तमा छौं । विश्व शान्तिपूर्ण माध्यमबाट नै सबै समस्याको समाधान हुनुपर्छ । अहिले माईट ईज राईटको समय होईन । शक्तिको बलमा जाने कुराको हामी विपक्षमा छौं । हामी शान्तिपूर्ण पक्षमा छौं । यो युद्ध छिटो अन्त्य होस । नेपालीहरुको उद्धार होस । सरकारमा अहिले वक्तव्यमा तत्तपरता देखियो । तर, आफ्नो नागरिकको उद्धार गर्न उदासिन देखियो । यो सरकारको यस्तो संवेदनशीलतामा सक्रियता देखिएन । युक्रेनको मामिलामा होस या अरु मामिलामा यो सरकार आफूलाई असक्षम दर्ज गरिरहेको छ ।’

उनले मुलुकलाई छिटोभन्दा छिटो निर्वाचनमा लैजानुपर्नेमा जोड दिए । उनले भने,‘छिटोभन्दा छिटो निर्वाचनमा जाऔं । नयाँ सरकार बनाऔं । मुलुकले राजनीति स्थायित्व खोजिरहेको छ । सभामुखले जे गरिहनुभएकोछ, त्यो गल्ती गरिरहनुभएको छ। महाभियोग अन्तिम अस्त्र हो । त्यो खालको स्थितिमा एक जना राजनीतिककर्मीलाई किन पुर्याउने ? भन्ने हाम्रो भनाई हो । अहिले हाम्रो पर्खने र धैर्यताको बाँध टुटिरहेको छ । उहाँ आँफैले पनि महाभियोग खोजिनरहनुभएको छ । संसद् सुचारुको विषय पनि सभामुखको हातमा छ । या त उहाँले हामीले कारबाही गरेका सांसदहरुको सूचना टाँस गर्नुपर्यो, या त उहाँले मार्गप्रशस्त गर्नुपर्यो ।’

 



प्रतिक्रिया दिनुहोस्