Logo

बार निर्वाचन: अध्यक्षमा डिएलएबाट झोला कमिसनमा मुछिएकादेखि कपास निगम डुबाउँनेसम्मको चर्चा



काठमाडौं, २० फागुन । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि निर्वाचन हुन लागेको छ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आगामी चैत्र १९ गते निर्वाचन हुँदैछ ।

फागुन २३ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेकाले विभिन्न संगठनभित्र उम्मेदवार छान्ने प्रक्रिया सुरु भएको छ । त्यसमध्ये सबैभन्दा बढी प्रतिस्पर्धा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए)मा देखिन्छ । डीएलएबाट बारको अध्यक्षमा उठ्नका लागि २०६३/०६३ सालको आन्दोलनका चर्चित महासचिव माधव बाँस्कोटा, विजय मिश्र, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, सुनिल पोखरेल, केदार कार्कीलगायतको चर्चा रहेको छ ।

त्यसमध्ये गोपालकृष्ण घिमिरे र पोखरेलको पृष्ठभूमि अलि विवादित रहेको डीएलएभित्र चर्चा छ । पोखरेल नेपाल बारको महासचिव भइसकेका र यसअघको कार्यसमितिमा डीएलएबाट टिकट लिएर चण्डेश्वर श्रेष्ठसँग बार अध्यक्षमा पराजित पात्र हुन् । सप्तरीको सामान्य परिवारमा जन्मिएर धेरै वरिष्ठलाई पछार्दै बारको अध्यक्षमा टिकट पाएका उनले आफूले हारेपछि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का, विजय मिश्र, यदुनाथ खनाललगायतलाई कारबाही गर्न लगाएका थिए ।

उक्त कारबाही प्रकरणमा डीएलएका अध्यक्ष योगेन्द्र अधिकारीको काँधमा बन्दुक राखेर पड्काएको भन्दै पोखरेलको आलोचना हुँदै आएको छ । उनको पकडका अध्यक्ष अधिकारी र महासचिव लक्ष्मी रावल अल्पमतमा परेपछि दाहाललगायतमाथि कारबाही फिर्ता लिइएको थियो । बारको महासचिव हुँदा कमसन झोला किनेर कमिसन खाएको पोखरेलमाथि आरोप छ ।

कोषाध्यक्षको आर्थिक अधिकार खिँचेर तत्कालीन महासचिव पोखरेलले कमिसनको खेलमा कमसल झोला किन्दा आफैंले हस्ताक्षर गरेको बारका पदाधिकारीहरु सुनाउँछन् । उनी खासै घुलमित हुन नरुचाउने पात्र भएकाले फेरि पनि डीएलएलाई उनको उम्मेदवारी महँगो हुन सक्ने डीएलए कै सदस्यहरु बताउँछन् । न्याय परिषद्का उपेन्द्र केशरी न्यौपाने सदस्य हुँदा सेटिङ मिलाउने गरेको पोखरेलमाथि अर्को आरोप लाग्ने गरेको छ ।

डीएलएबाट बार अध्यक्षमा दाबी गरेका अर्का व्यक्ति गोपालकृष्ण घिमिरे कपास विकास निगम डुबाउँने व्यक्तिका रुपमा चर्चा वकीलहरुबीच चर्चा चल्दै आएको छ । घिमिरेले कपास विवास निगम डुबाएर चितवनमा जग्गा जोडेको उनलाई नजिकबाट चिन्नेहरु सुनाउँछन् । पहिला उनका सहोदर दाजु रामकृष्ण घिमिरे कपास निगमको प्रमुख हुँदा गोपालकृष्ण सल्लाहकार रहेको र २०५३ पछि आफैं प्रमुख भएर गएपछि कपास विकास निगम नै डुबाएको उनीमाथि आरोप लागेपछि छानबिन भएको छैन ।
सुशील कोइराला नेपाली कांग्रेस सभापति हुँदा कोइराला निकट रहेका घिमिरे अहिले शेरबहादुर देउवा कांग्रेस सभापति भएपछि उतै टाँसिन खोजेका छन् । जता मल्खु उतै ढल्कु भनेजस्तै शक्ति र शक्ता निकट रहेर लाभ लिनेमा उनको नाम आउने गरेको छ ।

सुशील कोइराला कांग्रेस सभापति हुँदा चुनाव नै नगराई जोडबलमा यदुनाथ खनालले घिमिरेलाई डीएलएको अध्यक्ष बनाएका थिए । त्यस्तै पोखरेललाई पनि खनालले बारको महासचिव बनाउन ठूलोे योगदान दिएका थिए । तर अहिले पोखरेल र घिमिरे नै खनालले लगाएको गुन बिर्सिएर बदला लिन लागेको डीएलएभित्र व्यापक चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्