Logo

गठबन्धनका नाममा रुख छाडेर अरूका चुनाव चिह्नमा मत हाल्ने अभ्यास गराउँदैनौं : मीन विश्वकर्मा



काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहमा आवश्यकता अनुसार तालमेल हुन सक्ने भए पनि आफ्नो पार्टी घोषित रुपमा गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् ।
काठमाडौं, २१ फागुन । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “गठबन्धन सिद्धान्त र दर्शन होइन, रणनीति हो । राष्ट्रिय सरोकारका कार्यभार पूरा गर्न गठबन्धन बनेको हो । तर स्थानीय तह निर्वाचनमा औपचारिक रुपमा कुनै गठबन्धन हुँदैन । आवश्यकता अनुसार कहीँ कतै तालमेल गर्न सक्छ । साथीहरुको भनाइ रुख चिह्नमा मत दिइरहेकाहरुलाई अरु चिह्नमा मतदान गर्ने बानी नबसालौं भन्ने छ । यो कुरा जायज पनि छ ।”
संसद् विघटन गरेर अर्ली इलेक्सनमा जाने पूर्ववर्ती सरकारको गल्ती प्रधानमन्त्री शेरबहादुर देउवाले नदोहोर्याउने पनि बताए । उनले थपे, “सर्वोच्च अदालतको आदशे र संविधानको कार्यान्वयनका लागि संसद्लाई पूरा आयु दिनुपर्छ । बजेट पनि संसद्बाटै ल्याउनुपर्छ । तर यसो भन्दैमा निर्वाचनका लागि कांग्रेस तयार छैन भन्ने होइन । कांग्रेस चुनावबाट भाग्ने कुरा छैन ।”
नेपालमा उग्र वामपन्थीहरुले विकासमा सधैं अवरोध गरिरहेको उनले आरोप लगाए । नेता विश्वकर्माले भने, “एमसीसी अहिलेसम्म गरेका सम्झौतामा सबैभन्दा उत्कृष्ट छ । ऋण र ब्याज तिर्नु नपर्ने, उसको कुनै दबाब र प्रभाव नहुने, उसका ठेकेदार र कर्मचारी नआउने अनुदानलाई यसरी विकृत बनाउनुहुँदैन । नेपालका उग्र वामपन्थीहरुले त्रिभुवन विमानस्थल र अरुण तेस्रोमा पनि विरोध गरे । सिन्धुली-बर्दिबास सडक बनाउँदा मात्र होइन, कर्णालीमा २२ वटा पुल बनाउँदा पनि विरोध गरे । यो प्रवृत्तिबाट जनता हैरान छन् । तिनलाई जनताले चुनावमा पक्कै मूल्यांकन गर्नेछन् ।”
अमेरिकाको ठाडो विरोध गर्न नसकेर उसले दिएको उपहारमा समेत विरोध भइरहेको आरोप उनले लगाए । कांग्रेस नेता विश्वकर्माले भने, “जब सज्जन सुत्छन्, तब दुर्जनको राज हुन्छ । अब सज्जनले दुर्जनको नियन्त्रण गर्नुपर्छ । दिन घाम झुल्कँदा दिन हुन्छ, चन्द्र झुल्कँदा रात हुन्छ । गाईलाई गधा हो कि के हो भनेर छलफल गर्नु अपमान होइन ? अमेरिका विरोध गर्न मन लागे सीधै गरे भइहाल्यो नि । उसले दिएको उपहारको किन विरोध गर्ने ?”



प्रतिक्रिया दिनुहोस्