Logo

माओवादी केन्द्रका नेतालाई ऋषि धमलाको प्रश्नः “तपाईंको पार्टी अब विभाजनतिर गयो होइन ?”



काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता विष्णुपुकार श्रेष्ठले एमसीसी जस्तोको तस्तै पारित नगरिएको जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “एमसीसी जस्तोको तस्तै पारित गरिएको होइन । फुलस्टप र कमा पनि परिवर्तन नगर्ने नेपाली कांग्रेस र नेकपा एमालेको अडानका बाबजुद अन्तर्राष्ट्रिय कानुनले मान्यता दिएको व्याख्यात्मक घोषणा गरेर हामीले एमसीसीको ‘सेफ ल्यान्डिङ’ गरेका हौं । दोस्रो पक्षले मानेन भने अब हामीले एकतर्फी रुपमा सम्झौता अमान्य गर्न सक्छौं । व्याख्यात्मक घोषणाको भ्यालू नै थिएन भने संसद्ले किन पास गरेको त ?”
नेता श्रेष्ठले एमसीसी प्रकरणले पार्टीभित्र फरक मत भए पनि पार्टी फुट्ने तहमा नपुगेको दाबी गरे । उनले थपे, “एमसीसीका सन्दर्भमा पार्टीमा पास गरेर जाने र रोक्नुपर्थ्यो भन्ने फरक मत भए । तर फुटेर जाने वा छुट्टै बस्ने लेबलको अन्तरविरोध भएको होइन । जारी केन्द्रीय समितिको बैठकमा नारायणकाजी श्रेष्ठले एमसीसी रोक्न नसक्नु कमजोरी हो भन्नुभयो । पहिलो कुरा त माओवादीले विपक्षमा मतदान गरेको भए पनि एमसीसी पास हुन्थ्यो । कमसेकम केही त घोषणा गर्यो संसद्ले ।”
पार्टीको केन्द्रीय समिति बैठकमा कुनै कमरेडले राष्ट्रघातीलाई छाड्नु हुन्न नभनेको पनि उनको जिकिर छ । उनले भने, “केन्द्रीय समिति बैठकमा कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल आदि कमरेडले एमसीसीलाई छलफलमा लिएर जानुपर्छ । कतिपयले केन्द्रीय समितिको बैठक नराखीकन निर्णय गर्दा बेठीक भयो भन्ने तर्क गर्नुभएको हो तर कुनै कमरेडले राष्ट्रघातीलाई छाड्नु हुन्न भन्नुभएको छैन । पार्टीले जे निर्णय गरेको छ, त्यो ठीकै गर्यो भन्ने बहुमत छ ।”
पार्टीको केन्द्रीय समिति बैठकमा एमसीसी अनुमोदन, पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो चयन र स्थानीय तह निर्वाचनको तयारीबारे धारणा बनाउने नेता श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्