काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टीभित्रको एमसीसी विवाद जारी केन्द्रीय समितिको बैठकबाट किनारा लाग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “पार्टीमा छलफल र विवाद चलिरहन्छ । नेपाल कम्युनिस्ट पार्टीहरु बोलेकै भरमा कडा कारबाही हुने अवस्थाबाट अलग भइसक्यौं । त्यसैले फरक मत लिखित रुपमा केन्द्रीय कार्यालयमा दर्ता भएको छ । अब मतमतान्तर र असन्तुष्टिलाई बिस्तारै समाधान गर्दै लैजानुपर्छ । एमसीसी विवादलाई यही बैठकले किनारा लगाउनु राम्रो हुन्छ ।”
एमसीसीको विवादमा पार्टी छाड्नु कसैको हितमा नरहेको पनि उनले बताए । नेता साहले भने, “हाम्रा अध्यक्ष प्रचण्डजी इमोसनल हुनुहुन्छ । कहिलेकाहीँ त्यस्ता अभिव्यक्ति आउँछन्, सच्चिन्छन् पनि । प्रचण्ड र नारायणकाजी श्रेष्ठ असन्तुष्टि पोख्नुहुन्छ, मिल्नुहुन्छ र अगाडि जानुहुन्छ । अब सानो विषयमा विवाद गरिहाल्ने, गालीगलौज गरिहाल्ने, पार्टी छाडिहाल्ने बचकानापन होइन, परिपक्वता देखाएर अघि बढ्नुपर्छ । पार्टी छाडेर जाने संस्थापक नेताहरुको के हालत छ, त्यो सबैले देखिहाल्नुभएकै छ । त्यसैले पार्टी छोड्नु कसैका लागि पनि हितकर हुँदैन ।”
पार्टीको संगठनलाई सुदढीकरण गरेर चुनावमा केन्द्रित हुने बेला आएको पनि नेता साहले औंल्याए । उनले भने, “एमसीसीमा गलत नहोस् भनेर पार्टीले कार्यदल बनाएर निगरानी बढाउन सक्छ । तर बहुमत र अल्पमतको खेलमा जाने कुरा छैन । एमसीसीपछि केन्द्रीय समितिमा मनोनयन हुन्छ । तर पदाधिकारीको स्पष्ट खाका आएको छैन ।”
सत्ता गठबन्धन नटुट्ने र अर्ली इलेक्सनमा जाने सम्भावना बढेको उनले बताए । उनले भने, “गठबन्धनको गति धिमा हुन सक्छ, टुटाउने पक्षमा कोही पनि छैन । गठबन्धनभित्र अर्ली इलेक्सनको एजेन्डा खुल्यो तर निर्णय भएको छैन । मेरो भनाइ के हो भने कि संसद् राम्ररी चलाउनुपर्यो कि एमालेको विश्वास लिएर विघटन गर्नुपर्यो ।”