काठमाडौँ, २२ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ ।
उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए । यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।
प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयर सुश्री प्रस्तुति भट्टराई र सुश्री वर्षा तामाङलाई, अमर राना गेम चेन्जर अवार्ड क्याप्टेन प्रिया अधिकारीलाई, कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड सुस्वप्न रिमाललाई, ज्योति स्कलरशिप अवार्ड वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल र वुमन इन टेक स्कलर शिप सुक्रिती मास्केलाई, इन्द्रकला स्कलरशिप अवार्ड योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठलाई र वुमन इन स्पेस मनिषा दावा विजेता भएका छन् ।
जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भने, “समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको छ । एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन । एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ ।”
त्यस्तै “अनसंग हिरोज” विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु¥याएका अन्य ४ जना महिलाहरुलाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५,००० रुपैयाँ प्रदान गरेको छ ।