एजेन्सी, २३ फागुन । विश्व बजारमा कच्चा तेलको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज प्रति ब्यारल कच्चा तेल १२७ डलरसम्म पुगेको छ ।
२२ फागुनमा ११८ डलरसम्म पुगेको तेलको मूल्य आज ह्वात्तै बढेको छ । ब्रन्ड क्रुड १२७, डब्लुटीआई क्रुडको १२४, ओपेक बास्केटको ११७, बोनी लाइटको ११५ र लुसियाना लाइटको ११० डलर पुगेको छ ।
युक्रेन संकट देखि नै तेलको मूल्य आकाशिएको थियो । रुसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्य निरन्तर उकालो लागेको हो ।
अमेरिका र यूरोपेली देशहरुले रुसी तेलमाथि प्रतिबन्ध लगाउने चर्चा चलिरहँदा तेलको मूल्य किर्तिमान बनाउने गरी बढेको हो । प्रतिबन्ध लगाएमा प्रति ब्यारल कच्चा तेल १५० डलरभन्दा बढी पुग्ने आँकलन गरिएको छ ।