काठमाडौं, फागुन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन् ।
११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिदै परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको जारी संदेशमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जारी गरेको शुभकामना संदेशमा महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्ने तथा जीवन समर्पण गर्ने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरण गरेका छन् ।
प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको जारी संदेशमा उल्लेख गरेका छन् ।