महेन्द्रनगर, २४ फागुन । मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै सो अवसरमा सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका–१८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी भने मजदूरी काममा व्यस्त थिइन् ।
चार वर्षदेखि महेन्द्रनगर बजार क्षेत्रमा घर बनाउने काममा दैनिक रु पाँच सय मा मजदूरी गर्ने चौधरीले महिला दिवसको चर्चा सुनेपनि आफूलाई भने हर्ष न विस्मात भएको बताए । “दिनभरी मजदूरी नगरी साझँ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्नु ?”, उनले भने, “दिवसमा हकहित र महिलामाथिको विभेद्का नारा गुञ्जिए पनि हामी गरिबीको रेखामुनी रहेकालाई सधँै उस्तै हो ।”
उनले महिला पनि श्रमिकको रुपमा काम गरेर विकास निर्माणको सघाउन सक्रिय रहेको भन्दै महिलाको ज्यालामा वृद्धि हुनुपर्ने बताए । यहाँ मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी चौधरी कञ्चनपुरको लालझाडी गाउँपालिका–७ चान्देउकी स्थानीयवासी हुन् । श्रीमान् सुरज चौधरीसित महेन्द्रनगर मजुदूरीका लागि आएकी रीताले पारिवारिक अवस्था दयनीय हुँदा आफू छोराछोरीलाई परिवारका सदस्यको जिम्मा लगाएर मजदूरीका लागि आएको दुःखेसो पोखे । उनले महिलालाई विभिन्न आयमूलक काममा लगाउन सीपमूलक तालिम सञ्चालन हुने गरेको भएपनि त्यो आफूहरुको पहुँचबाट टाढै रहेको बताए । “श्रीमान् सवारी चालक, म मजदूरीमा छौं”, उनले भनिन्, “दुई जनाको मजदूरीले चामल किनमेलदेखि घरको अन्य खर्चटर्छ ।”
त्यसैगरी मङ्गलबार बिहान घर बनाउने काममा मजदूरी गर्न जानअघि भगतपुरमै बसोबास गर्दै आएकी कृष्णपु्र नगरपालिका–२ बाणीकी सुष्मा चौधरीले नारी दिवसको चर्चाबारे थाहा पाइन् । तर उनलाई दिवसको दिन मजदूरीमा जानु बाध्यता रहेको सुनाइन् । “हामीलाई पनि नारी दिवसको दिन घरमा बसेर मनाउन पाउँदा राम्रै हुने थियो”, श्रीमान् विक्रम चौधरीसित मजदूरी गरिरहेकी पुष्पाले भनिन्, “नाबालिक छोरी गाउँमा छाडेर जीविका चलाउनकै लागि हामी दम्पती यहाँ आएका छौं ।”
बाणी मुक्त कमैया शिविरमा सरकारले दिएको पाँच कठ्ठा जमिन मछेली नदीको किनारमा रहेकाले अन्न फल्न मुस्किल हुने गरेको उनको भनाँइ छ “बलौटे खेतमा उब्जनी नभएपछि घर छाडेर हामी लामो समयदेखि ज्याला मजदूरी गरेर खर्च चलाइरहेका छौं”, उनले भनिन्, “हामीलाई के दिवस, के बिदा सधैँ यस्तै हो ।” एक महिनाअघि मात्रै महेन्द्रनगरमा ज्याला मजदूरीका लागि आएकी पुष्पा अहिले यहाँको सालघारीस्थित आफन्तको घरमा डेरागरी बसिरहेको बताइन् । “तीन वर्षजति दार्चुलास्थित महाकाली नदीको तटबन्धमा मजदूरी गरें”, उनले भनिन्, “घरबाट टाढा भएकाले अब यति मजदूरी गर्ने निर्णयानुसार श्रीमान् मिस्त्री र म मजदूरी काम गर्छु ।”
त्यसैगरी यहाँको महाकाली नदीमा ढुङ्गा, गिट्टी र बालुवा छानेर जीविका चलाउँदै गरेकी भीमदत्त नगरपालिका–१३ का सुनादेवी सुनारले भने बगरको सङ्घर्ष मात्रै आफूलाई थाहा हुने गरेको बताइन् । “सहरमा महिला हकहित र दिवसका कुरा हुँदा हुन, हामी त बगरमा मजदूरी नगरी भोक टार्न सक्दैनौं”, उनले भनिन्, “हुनेखानेलाई पो दिवस आउँलान हामी त महिला भए पनि मजदूर न हौं ।” दैनिक रुपमा आउने ज्यालाले आफू घरको खाद्यान्न र छोराछोरीको लालनपालनको खर्च जुटाउने गरेको उनको भनाइ छ । रासस