Logo

ईलेक्ट्रोलाईसिस विधिबाट रसायनिक मल उत्पादन गर्नेबारे छलफल, कसले भने ?



काठमाडौं, २४ फागुन । काभ्रेको धुलिखेलस्थित् काठमाडौं विश्वविद्यालय र बाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच रसायनिक मल कारखाना बनाउने विषयमा छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाँईको विशेष पहलमा हेटौंडामा केयुका उपकुलपति सहितको टोलीले ईलेक्ट्रोलाईसिस विधिबाट रसायनिक मल उत्पादन गर्ने विषयमा छलफल भएको हो । छलफल निकै सकारात्मक भएको छलफलमा केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामाले जानकारी दिए ।

छलफलमा केयुको तर्फबाट उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राध्यापक विराज सिंह थापा, ईन्जिनियर लक्ष्मण लामा सहभागी भएका थिए । त्यस्तै, सरकारी तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री हुमागाईँ, राज्यमन्त्री ईन्द्रमाया गुरुङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डे, बाग्मती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र पत्रकारहरु सहभागी थिए ।

छलफलमा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख थापाले विश्वका विभन्न देशले हाइड्रोजन उत्पादनमा गरिरहेका प्रगति र नेपालको अवस्थाबारे खोज रिपोर्ट प्रस्तुत गरेका थिए ।
काठमाडौं विश्वविद्यालय आँफैले विकास गरेको हाइड्रोजन र त्यसबाट उत्पादन गर्नसक्ने रसायनिक मल कारखानाको सम्भानाका बारेमा खुलेर छलफल भयो । नेपालको सन्दर्भमा हामीसँग प्राकृतिक ग्याँस र पेट्रोलियम पदार्थ नभएको अवस्थामा भारत अथवा तेस्रो मुलुकबाट प्राकृतिक ग्याँस ल्याएर सस्तो पर्ने भएतापनि दुर्गामी असर पर्ने गरि काम गर्नुहुँदैन् ।’–डा. थापाले भने ।

उनले नेपालमै रसायनिक मल कारखाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भएको दाबीसमेत गरे । ‘नेपालकै विजुली सिमेन्ट उद्योगको कार्बनडाईअक्साईट र हावाबाट प्राप्त हुने नाईट्रोजन मिलाएर मल कारखाना बनाउन सकिन्छ । यसको प्राविधिक पक्षमा व्यापक छलफल भयो । यसको नाफा र लगानीको बारे कुरा उठेको छ । हामीलाई के विश्वास छ भने अहिलेसम्मको खोज, अध्ययन र अनुशन्धानले सम्भव छ भन्ने कुरा प्रष्ट पारेको छ ।

प्राकृतिक ग्याँसबाट कारखाना बनाउँदा कच्चा पदार्थमै धेरै खर्च हुने थापाको भनाई छ । उनले भने,‘अहिले सुरु सुरुमा नेपाली हाइड्रोजन, नाईट्रोजन र कार्बडाईअक्साईट उत्पादन गरेको मल केही महँगो हुनसक्छ । तर यसको दीर्घकालिन असर र विश्व बजारलाई हेर्ने हो भने सस्तो हुन्छ । यसलाई अझ गहिराईमा गएर थप अध्ययन र अनुसन्धान गरेर अघि बढ्न भन्ने विषयमा दुवै पक्षबीच मौखिक सहमति बनेको छ ।’–उनले थपे ।

छलफलमा केयुका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले विश्वविद्यालयले दुर्गामी असर पार्ने चिजहरुलाई अध्ययन, अनुसन्धान गरेर सरोकारवाला पक्षलाई सुसुचित गर्दै आएको बताए । ‘देश र समाजलाई आवश्यक पर्ने विभिन्न पक्षको गहिरो अनुसन्धान गरेर प्राविधिक कुरा बाहिर ल्याएर कार्यान्वयन गराउने हो । यसलाई राज्य र नीजि क्षेत्रको अपनत्व लिएर अघि बढ्दा सबैभन्दा राम्रो हुन्छ । रसायनिक मलप्रति अन्य मुलुकसँग परनिर्भरता हट्छ ।’ उनले थपे ।

छलफलमा सहभागी केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामाले रसायनिक मलको कारखाना स्थापनाको लागि ईच्छाशक्तिको आवश्यक रहेको बताए । ‘यो मुलुको आत्मनिर्भरतासँग जोडिएको विषय हो । यसलाई छलफल गर्ने, कार्यान्वयन नगर्ने हो भने खासै अर्थ छैन् । सबै पक्षले गम्भीरतापूर्वक लिएर अघि बढ्ने हो भने प्राविधिक रुपमा हामी तयार छौं ।’–उनले भने ।

त्यस्तै, छलफलमा सहभागी मन्त्री हुमागाँईले रसायिनक मल कारखानाको स्थापनाको नेतृत्व बाग्मती प्रदेश सरकारले गर्ने ठोकुवा गरे । मन्त्री हुमागाईँले केयुले विकास गरिरहेको प्रविधिले थप हौसला मिलेको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताए ।

‘मल कारखाना नेपालमै सम्भव छ । यसमा सबै पक्षको हातेमालो जरुरी छ। प्रविधिलाई प्रयोग गरेर अहिले संसारमा कयौं असम्भव ठानिएका काम सम्भव भएका छन् । यो मन्त्रालय किसानको मन्त्रालय हो । हरेक किसानको घर घमा कृषि मन्त्रालयको आभाष पुग्नेगरि काम गर्न चाहन्छौं । छलफल निकै सकारात्मक भयो । केयुसँग थप सहकार्य गरेर अघि बढ्छौं ।’



प्रतिक्रिया दिनुहोस्