काठमाडौं, फागुन २५। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागेको एकमहिने अभियानको अन्तिम तयारीमा जुटेको छ । यही फागुन २९ गतेदेखि कांग्रेसले ‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियान सञ्चालन गर्न लागेको छ ।
यो अभियानलाई कांग्रेसले संगठन सुदृढीकरण अभियानका रूपमा समेत लिएको छ । एकमहिने अभियान सञ्चालनको अन्तिम तयारीका रूपमा कांग्रेस सभापतिसहित शीर्ष नेताहरूले मगलबार पनि छलफल गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गत २० गतेदेखि नै यो अभियान सञ्चालन गर्ने भनिए पनि स्थगित भएको थियो ।
एकमहिने अभियानका साथ स्थानीय निर्वाचनको प्रचारबारे मंगलबार भएको शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। बैठकमा सहभागी एक नेताले जानकारी दिएअनुसार सभापति देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि राम्रो व्यवहार गर्न निर्देशन दिएका छन् ।
‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियानकै दौडानमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौताको बारेमा रहेको भ्रमका बारेमा पनि आम जनतालाई बुझाउने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताए । अभियानको दौडानमा सबै जिल्लामा एक÷एक जना केन्द्रीय सदस्य प्रतिनिधिका रूपमा खटाइने पनि कांग्रेसले जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।