काठमाडौं, फागुन २५ । नेकपा (एमाले) ले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।