Logo

एमसीसीको विरोध नगर्न भन्दै बैठकमै मन्त्रीहरुले झलनाथ खनाललाई हप्काए



काठमाडौं, २५ फागुन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालसँग नेताहरुले एमसीसीको विषयमाा सवालजवाफ नै गरेका छन् । काठमाडौंमा आज (बुधबार) बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा एमसीसी कार्यान्वयनमा गए यो नेपालके कम्युनिष्ट आन्दोलन र चीनविरुद्ध हुने भनेर सम्मानित नेता खनालले अभिव्यक्ति दिएपछि बैठकमा सहभागी केही नेताहरुले आपत्ति जनाएका थिए । खासगरी पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले नै नेता खनाललाई पार्टीको नीतिविपरित नजान र जथाभावी नबोल्न चेतावनी दिएका थिए ।

खासगरी पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले एमसीसी पारित भैसकेको अवस्था रहेकोले अब यसको विरोध गर्नुको कुनै अर्थ नहुने धारणा राखेका थिए । मन्त्रीहरुले नेता खनालको नाम नै लिएर पार्टीलाई कमजोर बनाउनेगरि जथाभावी नबोल्न पनि भनेका थिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् । उनले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका हुन् ।

एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’ एमसीसीका विषयमा नेता झलनाथ खनालको फरक विचार सार्वजनिक भइरहेका बेला अध्यक्ष नेपालको सो निर्देशन आएको हो । file photo



प्रतिक्रिया दिनुहोस्