काठमाडौं, फागुन २६ । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थालेको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।
तुलसीका श्रीमानले श्रीमतीलाई मिर्गौला दान गर्न तयार भए तर उनलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहेकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन ।
अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहेकी छन् । एक पटक डायलासिस गर्नलाई चारदेखि पाँच घण्टासम्म लाग्दछ । यस्तै रुकुमकी सुनकुमारी श्रीपालीको कथा भिन्नै छ ।
उनको मिर्गौलाले काम नगर्ने पुष्टि २०६८ मा भएको थियो । त्यसपछि नियमित डायलासिसमा रहेकी श्रीपालीको २०७१ साल माघमा शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर मिर्गौला प्रत्यारोपण गरेको २४ घण्टा पनि टिकेन ।
उनको शरीरले मिर्गौला रिजेक्ट गरेपछि दुई महिनासम्म शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भयो । गत कात्तिक२९ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला पुनः प्रत्यारोपण भयो ।
अहिले भने श्रीपालीको परिवार आनन्दसँंग बस्न सकेको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोग लाग्नै नदिनका लागि समय समयमा मिर्गौला परीक्षण गर्नुपर्ने बताउन्छन् ।
उनले कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौला रोगबारे थाहा हुने जानकारी दिँदै एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिएको आजको गोरखापत्र दैनिकमा खवरछ ।