काठमाडौं, २६ फागुन । यतिबेला पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएको छ । नेपालमा तेल आयात गर्ने एकाधिकार पाएको नेपाल आयल निगम भारी ऋणमा परेको छ ।
तेलको मूल्य उच्च बिन्दुमा पुग्दा आयल निगमले मासिक ५ अर्बभन्दा बढी घाटा व्यहोरिरहेको छ । उसको संचिती रकम सकिएर सरकारबाट रकम लिएर तेल खरिद गरिरहेको छ ।
निगम चरम आर्थिक संकटमा परिरहँदा कार्यकारी निर्देशकको चयन हुने भएको छ । सम्भवत आज बस्ने मन्त्रिपरिषदले यसको टुंगो लगाउने बुझिएको छ ।
आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिश भएको छ । सिफारिश भएकाहरुमा उमेशप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रसाद सिटौला छन् । थानी सुर्खेत, भट्ट गोरखा र सिटौला तेह्रथुमका हुन् ।
२५ पौषमा खुल्ला प्रतिष्पर्धाबाट पदपूर्तिको आव्हान गरिएको थियो । उनीहरुमध्येबाट तीनजनाको नाम २५ फागुनमा सिफारिश भएको हो ।
विश्वस्त स्रोतका अनुसार थानीलाई कार्यकारी निर्देशक बनाउने तयारी भएको छ । नेपाली काँग्रेसनिकट थानी पेशाले इञ्जिनियर हुन् । उनको परिवारका सदस्य पनि काँग्रेसमा सक्रिय छन् ।