काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको महाधिवेशनमा आफ्नो दल एक्लै हिंडन नचाहेको बताएका थिए । उनले यो अभिव्यक्ति कुनै दल या शक्तिहरुसँग सहकार्य या गठबन्धनको संकेत गरेका थिए ।
चुनाव नजिकिदै गर्दा सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच चुनावमा तालमेलको भद्र सहमतिबारे खुल्न थालेको छ । यसअघि भएका राष्ट्रिय सभा चुनावमा पनि गठबन्धनले मिलेर चुनाव लडेका थिए । फेरि मिलेर अगाडि बढेमा एमालेलाई सबैभन्दा धक्का हुन सक्छ ।
गठबन्धनको तयारीलाई दृष्टिगत गरी ओलीले पनि अलग गठबन्धनमा ध्यान दिन थालेको बुझिएको छ । चुनावमा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्ने सम्भावना बढेको छ । ओली र ठाकुरबीच निकट सम्बन्ध छ ।
ठाकुरले पनि सार्वजनिक रुपमा ओलीको प्रशंशा गर्दै आएका छन् । दुई नेताबीच चुनावमा मिलेर जानेबारे समेत विभिन्न माध्यमले कुराकानी चलेको बुझिएको छ ।
मधेश प्रदेशमा प्रभाव बढाएका सीके राउतसँग पनि ओलीको निकट सम्बन्ध छ । राउतलाई राजनीतिक मूलधारमा ल्याउन ओलीले नै मुख्य भूमिका खेलेका थिए । दुवैबीच सुमधुर सम्बन्ध छ । किसान आन्दोलन उठाएर मधेशमा प्रभावशाली बन्दै गएका राउतले पनि ओलीबाट चुनावी लाभ लिन खोजेका छन् ।
ओलीको ध्यान विप्लवतर्फ पनि गएको छ । विप्लवसँग पनि ओली नै वार्ता गरी राजनीतिक मूलधारमा फर्काएका थिए । यसकारण दुवैबीच सुमधुर सम्बन्ध छ । विप्लव चुनावमा भाग लिने सम्भावना कमजोर छ । तर, चुनावमा भाग लिएमा साथ बढ्ने गरी ओलीको तयारी रहेको बुझिएको छ ।
राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङ्देनसँगपनि ओलीको सम्बन्ध सुमधुर छ । लिङ्देन पनि झापाकै हुनु र दुवैबीच विगतमा चुनावी तालमेलको चर्चा पनि चलेको थियो । ओलीले लिङ्देनसँग पनि तालमेलका लागि कुराकानी गर्ने सम्भावना नकार्न सकिदैन ।
चुनावमा काँग्रेस, माओवादी, नेकपा एस र जसपा एक भएमा ओली कुनै हालतमा एक्लै अगाडि बढ्ने सम्भावना देखिदैन । उनले विकल्पमा लोसपा देखि राप्रपासम्मलाई लिन सक्छन् ।