Logo

एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई नै निरन्तरता दिने



काठमाडौं, २६ फागुन । प्रमुख राजनीतिक दलहरु आगामी बैशाख ३० गतेृ हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेका छन् । सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन् । पछिल्लो समय नेकपा (माओवाी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेको बेलामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरे भने एमालेले एक्लै चुनाव लड्नुपर्ने अवस्था छ। तर यो बीचमा एमालेले पनि स्थानीय तहको निर्वाचनको लागि चुनावी तालमेल गर्नेगरि गृहकार्य थालेको छ। उसले लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेल गर्नसक्ने बताईएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले त एमालेसँग चुनावी तालमेल हुने सार्वजनिक रुपमै बताईसकेका छन् ।

देशकै ठूलो महानगरपालिका काठमाडौंमा भने एमालेले अहिलेका मेयर विद्यासुन्दर शाक्यलाई नै निरन्तरता दिने तयारी गरेको छ । शाक्यले पनि पछिल्लो समय पार्टीले निरन्तरता दिन चाहेको खण्डमा आफू पूनः मेयरमा उठ्न सक्ने बताईसकेका छन् । महानगरवासीको हित हुनेगरि काम गरेको भन्दै मेयर शाक्यको एमालेमा नेताहरुले प्रशंसा गर्ने गरेका छन् । उनले विशेषगरि नेवारी समूदायको हितको लागि पनि विशेष काम गरेका बताईन्छ ।

उता, स्थानीय तहको निर्वाचनमा खासगरी महानगरपालिकामा सत्ता गठबन्धनले भागबण्डा गरिसकेका छन्। गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसको नेतृत्वमा चुनाव लड्ने करिब करिब सहमति भैसकेको छ । त्यस्तै, भरतपुर महानगरपालिका भने माओवादी केन्द्रले लिने भएको छ । उता, पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी) र वीरगञ्जमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले लिने भएको छ ।

कांग्रेसले काठमाडौंमा अहिलेकी उपमेयर हरिप्रभा खड्गीलाई मेयर बनाउनेगरि तयारी गरेको छ । उता, ललितपुरमा भने अहिलेका मेयर चिरिबाबु महर्जन नै उठ्ने चर्चा छ । विराटनगरमा पनि अहिलेका मेयर भीम प्रसाद पराजुली उठ्ने जनाईएको छ । माओवादी केन्द्रले भरतपुरमा पनि रेनु दाहाललाई नै निरन्तरता दिन चाहेको छ। रेनुले राम्रो काम गरेको भन्दै उनलाई निरन्तरता दिनेबारे नेतृत्व तहमा करिब करिब सहमति भैसकेको छ । वीरगन्जमा पनि जसपाले अहिलेका मेयर विजयकुमार सरावगीलाई नै उठाउने चर्चा छ।

कांग्रेसमा शेखर कोइराला समूहले भने स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने भनेर सार्वजनिक रुपमै बोलिरहेको बेलामा सभापति एवम् प्रधानमन्त्री देउवाले भने भागबण्डाको सहमतिबारे गृहकार्य नै थालिसकेका छन् । आजमात्रै पनि प्रधानमन्त्री देउवाले गठबन्धन नगरी चुनाव लड्दा कुनै एक दलको बहुमत नआउने दाबी गरेका छन् । उनले पछिल्लो समय गठबन्धनलाई आगामी तीनै तहको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउँदै आएका छन्। file photo



प्रतिक्रिया दिनुहोस्