Logo

टिकट नपाउने देखेपछि बहालवाला मेयरहरुले गर्नथाले पार्टी परिवर्तन



काठमाडौं, २८ फागुन । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा बहालवाला मेयरहरुले नै पार्टी परिवर्तन गर्न थालेका छन् । विगतमा जुन दलको टिकटबाट चुनाव जित्यो सोही दल छाड्न थालेका छन् ।

मेयरहरुले पार्टी परिवर्तन गर्नुमा टिकटको सुनिश्चितता नहुनु र हाल रहेको दलबाट चुनाव नजित्नु नै मुख्य कारण देखिन्छ । जस्तो वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जसपा छाडेर एमालेमा लागेका छन् ।

सरावगीले आउँदो चुनावमा टिकट नपाउने अवस्था बन्न थालेपछि उनी एमालेमा लागेका हुन् । जसपा फुटेपछि वीरगञ्जमा उक्त दल कमजोर स्थितिमा छ । एमाले र लोसपाको चुनावी तालमेलको सम्भावना पनि बढेको छ । यसकारण पनि सरावगीले चुनावी रणनीति अनुसार कदम चालेको बुझिएको छ ।

यसअघि मोरङको रंगेली नगरपालिकाका मेयर दिलिम बगडिया र उपमेयर केशवकुमारी खराल एमालेमा प्रवेश गरेका थिए । २५ फागुनमा माओवादी केन्द्रबाट निर्वाचित दुवैजना एमालेमा जानुमा टिकटको सुनिश्चितता नै हो । काँग्रेससँग गठबन्धन गरेमा टिकट नपाउन सक्ने सम्भावना बढेबाट बगडिया एमालेमा लागेका हुन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह काँग्रेस प्रवेश गरिसकेका छन् । उनले टिकटको सुनिश्चितासँगै जीतको सम्भावना बढाउन काँग्रेसमा लागेको बुझिएको छ ।

काँग्रेसबाट इनरुवाको मेयरमा पराजित मनोजकुमार मेहता पनि एमाले प्रवेश गरिसकेका छन् । त्यहाँ मेहतालाई उठाउने गरी प्रवेश गराइएको बुझिएको छ ।

पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार पनि काँग्रेस प्रवेश गरिसकेका छन् । नेपाली जनता दलबाट जितेका रौनियारले टिकट पक्का गर्दै जीतको सम्भावना बढाउन उक्त कदम चालेको बुझिएको छ । उक्त नगरपालिकामा काँग्रेसको बलियो प्रभाव छ ।

यसरी मेयरहरु नै कार्यकाल सकिन लाग्दा पार्टी परिवर्तन गर्न थालेका छन् । उनीहरु पदमा पुनः रहने उद्देश्यका साथ दल नै त्याग्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्