काठमाडौं, २९ फागुन । नागरिक समाजको अगुवा डा. सुन्दरमणि दीक्षितले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिएर संसद्को अवरोध खोल्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, “संसद्मा नेकपा एमालेले उठाएको मुद्दा बिलकुलै सही छ । अब निकास निकाल्ने जिम्मा सभामुख अग्नि सापकोटाकै हो । एक्लो व्यक्तिका कारण संसद् अवरुद्ध छ भने उनले सोच्नुपर्छ । एक त उनी पदमा जानै नहुने व्यक्ति हुन् । उनका विरुद्ध ज्यानमारा मुद्दा चलेको छ । तर उनको मुद्दा सर्वोच्च अदालतमा पेसीमा चढ्दै चढ्दैन । उनलाई त्यो सिटमा बस्ने अधिकारै छैन । उच्च पदमा बस्ने व्यक्तिमा नैतिक आचरण हुनुपर्छ । उनले भागबन्डाका आधारमा सभामुख पाए । एउटा व्यक्तिका कारण मुलुकलाई बन्धक राख्न मिल्दैन । अबको निकास अग्नि सापकोटाको राजीनामा हो । उनले राजीनामा दिनेबित्तिकै सबै कुरा खुल्छ ।”
महाभियोग सिफारिस समितिमा बसेर नेकपा एमालेले द्वैध चरित्र देखाएको आरोप पनि उनले लगाए । डा. दीक्षितले भने, “संसद् कि पूरै बन्द गर, कि पूरै खोल । संसद् अवरोध गर्ने हो भने तलब, भत्ता खान पाइँदैन । यो सरासर लुटपाट हो ।” उनले एमसीसीमा पनि एमालेले द्वैध चरित्र देखाएको आरोप लगाए । अब चोलेन्द्रशमशेर राणाको महाभियोगमा एमालेले दुवै हातमा लड्डु लिने चाहना गरेको उनको आरोप छ ।
अर्को प्रसंगमा डा. दीक्षितले चीनले नेपालको राजनीतिमा चासो बढेको टिप्पणी गरे । उनले भने, “केपी ओलीको पालामा चीनका राष्ट्रपति हामफाल्दै आएकै हुन् । चिनियाँ राजदूतको दौडधुप हामीले देखकै छौं । यसपटक चिनियाँ विदेशमन्त्री अमेरिकाले जस्तै नेपाललाई सहयोग कसरी बढाउने भनेर लागि त आए हुने हो । तर ओली र प्रचण्डको साँठगाँठ बचाउन चीनले सक्ने छैन । नेपालका कम्युनिस्टहरु मिल्नेवाला छैनन् ।”
युट्युबरले आलोचना गरेकाले सरकार र दलहरु तर्सिपको उनको आरोप छ । उनले भने, “अहिले प्रिन्ट मिडिया, रेडियो, टीभी, अनलाइन कोही पार्टीतिर ढल्किएका छन्, कोही विदेशीतिर ढल्केका छन् । साँच्चै भन्ने हो भने युट्युबरसँग सरकार र पार्टी तर्सेका छन् । किनभने यिनले सत्य कुरा उजागर गरेका छन् । सरकार र पार्टीको आलोचना गरेका छन् । हामी आम नागरिकले प्रस्ट कुरा राख्न पाएका छौं । उनीहरुले रोजगारी पाएका छन् । उनीहरुको मुख बन्द गरेर के मलेसिया, साउदी पठाउने हो ? यसमा सरकारको एक पैसा लगानी छैन । राष्ट्रघाती, अश्लील र गालीगलौज भए कारबाही गर न ।”
आगामी निर्वाचनमा राजनीतिक दलहरुले कोभिडको महामारी निम्त्याउन नहुने उनले औंल्याए । डा. दीक्षितले भने, “अहिले कोभिडको संक्रमण घटेको छ तर जोखिम छँदै छ । ठूलठूला भेला हुँदा सामाजिक दूरी कायम गरौं । अन्य मुलुकको जस्तो बेबकुफी नगरौं । सुनामीको ढोका नखोलौं । अलिकति डिसिप्लिन मेन्टेन गराऔं । जनताको स्वास्थ्यमा खेलबाड नगरौं ।”