Logo

नेपाल विद्युत प्राधिकरणले अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत दिने



काठमाडौं, २९ फागुन । अम्बे स्टील्स उद्योगलाई नेपाल विद्युत प्राधिकरणले एक महिनाभित्र ३५ मेगावाट विद्युत दिने भएको छ ।

प्राधिकरणले अहिले उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ। प्राधिकरणले उद्योगसम्म विद्युत पुर्‍याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिना भित्रमा थप २७ मेगावाटसहित अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत दिन लागेको हो ।

उद्योगसम्म विद्युत पुर्‍याउनका लागि कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरुलाई विद्युत दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ।

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने अम्बे स्टिल्सको भ्रमण गरी एक महिनाभित्र विद्युत आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्