काठमाडौं, ३० फागुन। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । उनले मन्त्री भएपछि माफिया, दलाल, भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मेहम्मे रहेको टिप्पणी गरेका छन् ।
पराजुलीले फेशबुकमा लेखेका छन्-
मन्त्री र मन्त्रालय आम जनताको हुनुपर्छ यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुर/कसिलो वनाउनु पर्दछ । तर यहाँ मन्त्री स्वयं जनता र कार्यकर्तासंग भन्दा बढि सम्बन्ध दलाल माफियासंग कसिलो बनाउन लालायित देखिन्छन् । मन्त्री भए पछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे छ ।
मन्त्री भनेको भुडी ठुलो बनाउनु र हल्लाउनु होईन जनताको प्यारो बन्नु/हुनु हो । मन्त्रीहरुको यस्तो व्यवहारबाट हामीले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ ।
अर्को गम्भीर कुरा त मन्त्री एउटा पार्टीबाट बन्ने अनि राती राती अर्को पार्टीको अध्यक्षको घरमा गेटपाले बस्न जाने ! यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीमा गम्भीर समिक्षा गर्नु जरुरी छ ।
नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी ) पार्टीमा लागेका आम नेता कार्यकर्ताको अहिलेको भावलाई पार्टीबाट सरकारमा सहभागी मन्त्रीको माथि उल्लेख गरेका ( जनता कार्यकर्ता भन्दा माफिया दलाल प्यारो देख्ने सेटिङ्ग गर्ने ) गतिविधिले प्रतिनिधित्व गर्न सक्छ त भन्ने प्रश्न खडा भएको छ ।