काठमाडौं, ३० फागुन । नेपाली काँग्रेसको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कस्को शक्ति कति भन्ने आँकलन भइसकेको थियो । तर, प्रदेश, जिल्ला देखि स्थानीय तहसम्मको नतिजा सबै आएपछि नेताहरुको शक्तिबारे स्पष्ट चित्र आएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा केन्द्र देखि स्थानीय तहसम्म मजबुत देखिएका छन् । केन्द्रीय सदस्यमध्ये उनको पक्षमा दुई तिहाई सदस्य छन् । प्रदेशहरुमा गण्डकी र लुम्बिनीबाहेक ५ मा उनी पक्षधर सभापति छन् ।
जिल्ला सभापतिहरुमा देउवा पक्षका ४२ जना छन् । केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षका २८ जना छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. सशांक कोइराला निकट २-२ जना जिल्ला सभापति छन् । पूर्व उपसभापति विमलेन्द्र निधि १ जना जिल्ला सभापति छन् ।
देउवाले बागमती, कर्णाली, सुदूरपश्चिम, मधेश प्रदेशमा बलियो प्रभाव बनाएका छन् । शेखर कोइराला पक्षधर प्रदेश १ मा अन्य प्रदेशमा भन्दा राम्रो स्थितिमा देखिएका छन् ।
बागमती प्रदेश अन्र्तगत काठमाडौं र ललितपुरमा प्रकाशमान सिंह पक्षधर जिल्ला सभापति छन् । कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरु झापा र बाग्लुङमा छन् । सशांक कोइराला पक्षधर जिल्ला सभापतिहरु संखुवासभा र नवलपुरमा छन् । धनुषामा विमलेन्द्र निधि पक्षका जिल्ला सभापति छन् ।
काँग्रेसभित्र देउवाको बर्चश्व माथि देखि तल्लो तहसम्म देखिएको छ । उनलाई चुनौती दिनेमा कोइराला पक्ष नै देखिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला देउवासँग नजिक छन् । अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि देउवासँग नजिकिएका छन् । यसकारण पनि देउवा झन् शक्तिशाली बनेका छन् ।
काँग्रेसको राजनीतिमा देउवाले आफ्नो पक्षबाट कस्लाई अगाडि सार्ने हुन् चासो बनेको छ । विगतमा एउटै गुटमा रहेर काम गरेको आधारमा प्रकाशमान सिंह र विमलेन्द्र निधि अगाडि बढ्न सक्छन् । तर, सभापतिको चुनावमा कृष्णप्रसाद सिटौलाले साथ दिएको, सशांक कोइराला खुलेर विरोधमा नदेखिएकाले पनि उनीहरु पनि देउवाका प्रीय हुनसक्छन् ।
देउवा अहिले सबैभन्दा शक्तिशाली भएपनि उनी पछिका शक्तिशाली संगठन र समर्थनका हिसाबले शेखर कोइराला देखिएका छन् । तर, देउवाले दिने साथले शक्ति सन्तुलनमा फरक आउन सक्छ ।
जिल्ला सभापतिहरु कस्को कति
शेरबहादुर देउवा- ४२
डा. शेखर कोइराला- २८
प्रकाशमान सिंह- २
कृष्णप्रसाद सिटौला- २
डा. सशांक कोइराला- २
विमलेन्द्र निधि- १