काठमाडौं, चैत १ । कर्मचारीको दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा लामो समयसम्म कामविहीन अवस्थामा सहसचिवहरू अतिरिक्त समूहमा थन्किने गरेका छन् । लोकसेवा आयोगले दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा सहसचिवको चाप बढेको छ ।
सहसचिवका पर्याप्त दबरन्दी अभावमा कामविहीन भएर मन्त्रालयमा सहसचिव थुप्रिने गरेका छन् । अहिले मन्त्रालयमा झन्डै २० जना सहसचिव कामविहीन भएर अतिरिक्त समूहमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै १२ जनाजति सहसचिव बढुवा भई आउनेक्रममा रहेका छन् ।
मन्त्रालयकै विभिन्न शाखा, महाशाखा र सिंहदरबार घुमेर ती कर्मचारीले समय बिताउने गरेका छन् । मन्त्रालयका सहसचिव रघुराम विष्टले लोकसेवा आयोगले आफ्नो कार्यतालिकाअनुसार कर्मचारी बढुवा गरेको भए पनि सहसचिव पदको दरबन्दी खाली नहुँदा अतिरिक्त समूहमा थन्काउनुपरेको बताए । गोरखापत्र दैनिकबाट ।