Logo

न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छः महान्यायाधिवक्ता खाती



काठमाडौं, १ चैत । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९औँ पूर्वव्यावसायिक आधारभूत तालिम आज शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिएका हुन् ।

“कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन”, महान्यायाधिवक्ता खालीले भने, “न्यायालयको छवि उच्च राख्न र पेसागत सुरक्षाका लागि विचलित नभइकन कानुन व्यवसायीले काम गर्नुपर्छ ।” नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानुन व्यवसायी निर्भिक भएर काम गर्नुपर्ने बताए । उनले न्यायापालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउनका लागि बारले निरन्तर आवाज उठाइरहेको बताए ।

सो अवसरमा महान्यायाधिवक्ता खातीले नवोदित कानुन व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तक सार्वजनिक गरेका थिए । बार काउन्सिलले प्रकाशन गरेकोे उक्त पुस्तक उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य डा. चन्द्रकान्त ज्ञावली र अधिवक्ता पूजा भण्डारीले तयार गरेका हुन् ।

उक्त पुस्तकमा व्यावहारिक मस्यौदा, सीप, सेवाग्राहीसँग परामर्श, बहस कला तथा कानुन व्यवासायीको आचार संहितालागयत विषय समावेश गरिएको छ । तालिममा एकहजार एकसय तीन नवोदित कानुन व्यवसायी सहभागी छन् । बार काउन्सिलको तथ्याङ्कअनुसार हाल २० हजार कानुन व्यवसायी क्रियाशिल छन् । रासस/ Filephoto



प्रतिक्रिया दिनुहोस्