काठमाडौं, चैत २ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माण गृहकार्य अघि बढाएको छ । संविधानले तोकेअनुसार जेठ १५ मै बजेट ल्याउने गरी अर्थ मन्त्रालयले ‘कोर टीम’ बनाएर गृहकार्य अघि बढाएको हो ।
अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा हालै बसेको बैठकले पाँच सदस्यीय बजेट मस्यौदा लेखन समिति अर्थ मन्त्रालयमा बनिसकेको छ । समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल रहेका छन् ।
सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी छन् ।
समितिलाई संसद्को दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने र आव २०७९/८० को बजेट वक्तव्यको मस्यौदा तयार गरी पेश गर्ने अधिकार दिइएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण, वरिष्ठ आर्थिक सल्लाहकार डा। सुरेन्द्रकुमार उप्रेतीलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउन भनिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।