काठमाडौं, ४ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले माधव नेपाल र प्रचण्ड नेकपा एमालेतिर लहसिनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “स्थानीय तहको निर्वाचन विशुद्ध विकासका लागि हुने हो । तर अहिले गठबन्धनकै सरकार भएकाले त्यसका सामेल भएका दलहरु मिलेर सँगै विकासमा जान्छौं भन्नु पनि उपयुक्त छ । प्रचण्ड र माधव नेपालले कांग्रेसलाई छाडेर एमालेसँग लहसिनुपर्ने अवस्था आउँदैन ।”
यादवले कांग्रेस लोकतान्त्रिक दल भएकाले आआफ्नो धारणा व्यक्त गर्न पाउने तर अन्त्यमा पार्टीको निर्णय सबैले मान्ने पनि औंल्याए । उनले भने, “कांग्रेस लोकतान्त्रिक पार्टी हो । कांग्रेसमा नेताहरुले आफ्नो कुरा राख्न पाउँछन् । केन्द्रीय कार्यसमितिमा सबैको आआफ्नो राय हुन्छ । तर निर्णय बहुमतले गर्ने हो । कांग्रेसले सानोतिनो लोभलालच नराखीकन संघीयताको कार्यान्वयनका लागि गठबन्धनमा जाने निर्णय गर्छ । कहाँ कहाँ गठबन्धन गर्ने हो, छलफल र कुराकानी होला ।”
आठ महिनामै केपी ओलीको प्रतिगमनलाई नबिर्सिन उनले माधव नेपाल र प्रचण्डलाई आग्रह गरे । उनले भने, “केपी ओली आए भने फेरि प्रतिगमन गर्छन् । । उनको मण्डले र राजावादीसँग साँगगाँठ छ । माधव नेपाल अलग भएपछि उनको फूर्ति अझै बढेको छ । प्रचण्ड र माधव नेपालले गठबन्धनबाट अलग हुनु पर्दैन । हामी स्थानीय तहदेखि प्रदेश र संसद्मा पनि गठबन्धन गर्छौं । तर मेरो उनीहरुलाई प्रश्न छ, आठ महिनामै हामीले केपी ओलीको प्रतिगमनलाई बिर्सिसक्यौ ? ओलीको झ्यासझुसे बोलीमा विश्वास गर्ने ?”
नेपाली कांग्रेसकै कारण मुलुकमा लोकतन्त्र, संघीयता र संविधान संस्थागत भएको बताउँदै उनले ओलीले गफबाहेक केही नगरेको आरोप यादवले लगाए । उनले भने, “आजसम्म जे जति विकास भएको छ, त्यो नेपाली कांग्रेसकै कारण भएको हो । भ्याट लगायो भनेर एमालेले रेलिंग तोड्यो, आज त्यही कारण अर्थतन्त्र जोगियो । ओलीले कोरोनामा महामारीमा खोप दिन सकेनन्, कांग्रेसको सरकार आएपछि जनताले भ्याक्सिन मात्र होइन, बुस्टर डोज पनि पाए ।”