काठमाडौं, ५ चैत्र । दमकमा बन्न लागेको औद्योगिक पार्क विवादमा परेको छ । मुआब्जामा असन्तुष्टि जनाउँदै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । हजारौं आदिवासीलगायत स्थानीय मुआब्जाको विषयमा विरोधमा छन् ।
दमक औद्योगिक पार्क निर्माणमा कतिपयको जग्गा अधिकरण गरिएको थियो । चीनको लगानीमा उक्त पार्क बन्न लागेको हो । स्थानीयले मुआब्जामा असन्तुष्टि जनाउनुका साथै रोजगारीको सुनिश्चितता समेत नभएको विषय उठाएका छन् ।
३२५ हेक्टर जमिनमा बन्न लागेको औद्योगिक पार्क ११४२ हेक्टरमा विस्तार गर्ने योजना छ । ९३२ बिगाहा जमिन प्राप्त भइसकेको र बाँकी जमिन गरी २२०० बिगाहामा फैलनेछ । आयोजना ३ खर्ब ३३ अर्ब रुपैयाँ लागतमा बन्ने उल्लेख छ । यो आयोजना बीआरआई अन्तर्गत बनाउने तयारी भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्रमा निर्माण गर्न लागिएको औद्योगिक पार्क पर्दछ । ओलीले चीनसँग निकटता बढाएर उक्त पार्क निर्माणमा सहयोग ल्याउन सकेको विषय उठ्दै आएको छ ।
बीआरआई कार्यान्वयनमा आइसकेको छैन । चिनियाँ विदेशमन्त्री वाङ ई यही विषयमा कुराकानी गर्न नेपाल भ्रमणमा आउँदैछन् । बीआरआई अनुदान नभई ऋण भएकाले नेपालले अनुदानमा रुपान्तरण गर्न प्रस्ताव गर्ने चर्चा छ ।
बीआरआई अन्तर्गतको झापाको दमकस्थित पार्कलगायत कतिपय आयोजना सुरु नहुँदै सर्वसाधारणलाई मुआब्जा वितरण, विस्थापितको पुनः स्थापना, कार्यान्वयनको सुस्तता र चुस्ततामाथि प्रश्नहरु उठ्न थालेको छ ।