Logo

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुमधुर र हार्दिक बनाउँछ भन्नेमा एमाले विश्वस्त छ : विष्णु रिजाल



काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का विदेश विभागका उप-प्रमुख विष्णु रिजालले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न आफूहरु तयार रहेको बताएका छन् । उनले भने,‘एमाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणमा स्वागत गर्न तयार छ । नेपालले सबै देशसँग आफ्नो मूल्यअनुसार सम्बन्ध राख्नुपर्छ, हामी सबैसँग सम्बन्ध राख्न स्वतन्त्र छौं । अब सम्झौता कार्यान्वयनको बारेमा हामीले बढि ध्यान दिनुपर्छ ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल र चीनबीच उच्चस्तरको भ्रमण हुनु सकारात्मक भएको उल्लेख गरे । उनले भने,‘चिनियाँ विदेशमन्त्रीको औपचारिक भ्रमणको घोषणा भएको छैन् । नेपाल र चीनबीचको सम्बन्ध पूरानो छ । हामी सहकार्यको युगमा छौं । चीनसँग १९६२ मा सिमा सम्झौतामा हस्ताक्षर भएता कुनैपनि समस्या छैन् । समस्यारहित सम्बन्धको रुपमा हेर्न चाहन्छौं । चीनको विकासबाट नेपालले पनि लाभ पाउनुपर्छ । नेपाल र चीनबीच यो बीचमा उच्चस्तरको भ्रमण भएका छन् । राष्टपति, प्रधानमन्त्री र मन्त्रीस्तरमा भ्रमण आदानप्रदान भएका छन् । पछिल्लो समय कोभिडको कारण उच्चस्तरको भ्रमण भएको थिएन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रिजालले अहिले हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुमधुर र हार्दिक बनाउँछ भन्ने कुरामा एमाले विश्वस्त रहेको सुनाए । यद्धपी उनले वर्तमान सरकारले विदेश सम्बन्ध सञ्चालनमा असफलता प्रकट गरिरहेको आरोप लगाए । उनले भने,‘यो सरकारले विदेश सम्बन्धलाई खेलाँचीको रुपमा लिएको छ । चीन अहिले राजदूतविहीन छ । वर्तमान सरकारले चीनसँगको सम्बन्धलाई कति महत्व दिएको छ ? भन्ने कुरा यहीँबाट थाहा हुन्छ । हामी त भारत र चीनबाट लाभ लिने कुरा गरिरहेका छौं । भारतमा हामीले राजदूत नियुक्त गर्यौं । तर चीनमा राजदूत अहिलेसम्म नियुक्त भएका छैनन् । के यही हो त समान व्यवहार ?’

उनले वर्तमान सरकारले भारतसँगको सिमा विवाद समाधानको लागि पहल नै नगरेको पनि आरोप लगाए । उनले भने,‘बरु यो सरकारले चीनसँगको हुँदै नभएको सिमा समस्या समाधानको लागि भन्दै अध्ययन कार्यदल बनायो । त्यसको प्रतिवेदन पनि सार्वजनिक भएको छैन् । दुई देशका बीचमा कुराकानी भएको पनि देखिँदैन् । समस्या भारतसँग छ, अनि अध्ययन कार्यदल चीनसँग बनाउँछ । सरकारले अब गल्ती सच्याउँदै, चीनसँगको सम्बन्धलाई हार्दिकताको रुपमा विकास गर्नेछ भन्ने विश्वास लिएका छौं। र, जतिपनि समस्याहरु छन्, त्यसलाई कुटनीतिक रुपमा समाधान गर्नेछ भन्ने विश्वास छ ।’

नेपाल र चीनबीच बीआरआईमा सन् २०१७ मा हस्ताक्षर भएपनि अहिलेसम्म यो सम्झौता कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । उनले भने,‘अब सरकारले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर आफ्नो भूमिका खेल्नेछ । नेपाल र चीनबीच इतिहासदेखि रहँदै आएको ऐतिहासिक सम्बन्धले उचाई लिन्छ। उत्तरसँग कुरा गर्दा दक्षिणसँग डराउने र दक्षिणसँग कुरा गर्दा उत्तरसँग डराउने मानसिकताबाट माथि उठ्नुपर्छ । नेपाल स्वतन्त्र मुलुक हो । हामीले आफ्नो हितअनुकुल सम्बन्ध राख्नुपर्छ । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारको पालामा सबैसँग राम्रो सम्बन्ध थियो, र सरकारले समान व्यवहार गरेका थियो । हामी आफ्नो खुट्टामा उभिँदा सबैसँग राम्रो सम्बन्ध भयो । आफ्नो राष्ट्रिय हितलाएई केन्द्रमा राखेर सम्बन्ध राख्दा नेपालको ईज्जत, मान र प्रतिष्ठा बढ्छ ।’



प्रतिक्रिया दिनुहोस्