Logo

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता हुँदै



काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज साँझ भेटवार्ता हुने भएको छ ।

उनीहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल केन्द्रित हुने बुझिएको छ ।

प्रधानमन्त्री देउवा खोटाङको कार्यक्रमबाट सिधै काठमाडौं आउने कार्यक्रम छ । त्यसलगत्तै तीन नेताबीच छलफल हुने बताईएको छ ।

आजमात्रै माधव नेपालले तीन नेताबीच छलफल हुने तय भएको जनाएका थिए ।

प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने ? भन्नेबारे ठोस निर्णय गर्न देउवालाई दबाब बढाएका छन् ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने हो भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन गर्ने तयारी रहेको छ ।

प्रचण्डले पनि पछिल्लो समय आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कांग्रेससँग गठबन्धनको भर नपर्न भनेका छन् ।

उनले आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्नुपर्नेमा जोड दिँदै आएका छन् ।

तर, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा भने अहिलेको गठबन्धनलाई तीनै तहको निर्वाचनमा सँगै लिएर जान चाहन्छन् ।

उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गठबन्धनका नेताहरुलाई अपमान हुनेगरि नबोल्नसमेत निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्