काठमाडौं, ७ चैत : वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले राजनीतिक गतिविधीमा तिव्रता दिएका छन् । निर्वाचन आउँन ५३ दिन बाँकी रहँदा दलहरुले गतिविधीलाई बढाएका हुन् ।
उम्मेदवार चयन लगायतका लागि प्रमुख राजनीतिक दलहरुले मापदण्ड बनाउन थालेका छन् भने गठबन्धन गर्ने विषयमा पनि चर्चा चलिरहेको छ ।
हाल सत्ता सञ्चालन गरिरहेका नपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् ।
गठबन्धनमा रहेका दुई दल माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् भने नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरुले गठबन्धन सरकार सञ्चालनका लागि भएको बताउँदै आइरहेका छन् ।
महामन्त्री गगन थापासहितका नेताहरुले कांग्रेका मतदालतले रुख चिह्नमा छाप लगाउन पाउनुपर्ने बताइरहेका छन् । उनीहरु गठबन्धनमा जाँदा कांग्रेसलाई नाफा नहुने र वास्तविक कांग्रेसको जनमत थाहा नहुने तर्क गरिरहेका छन् ।
तर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने गत निर्वाचनमा कमजोर अवस्थामा रहेको आफ्नो दललाई सत्ताको बागडोर सम्हाल्न सहयोग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चिढ्याउने पक्षमा छैनन् । उनले चुनावसम्मै गठबन्धन जाने भनिरहेका छन् ।
देउवाले आफू निकटका नेताहरुसँग माओवादी र एकीकृतसँग गठबन्धन नगरे वृहत वाम एकता हुन सक्ने र चुनावी नतिजा गत निर्वाचनको जस्तै हुन सक्ने बताइरहेका छन् ।
‘वामपन्थी पार्टीहरु फेरि एक हुन बेर लाग्दैनन्’ भन्दै आफूलाई सुरक्षित गर्न खोजेका देउवालाई प्रमुख प्रतिपक्षीसमेत रहेको र आगामी चुनावमा पनि मुख्य प्रतिस्पर्धी रहेको आकलन गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राहत भने दिएका छन् ।
आजबाट सुरु भएको पोलिटब्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी दलहरुसँग एकताको प्रस्ताव राखेका थिए ।
तर, अध्यक्ष ओलीले भने पारस्परिक लाभको आधारमा चुनावी तालमेल भए पनि अन्य पार्टीसँग एकता नहुने बताए । उनको यस्तो भनाइले देउवालाई केही राहत मिलेको छ ।
अब कांग्रेससँग गठबन्धन नभएमा पनि एमालेसँग माओवादी र एकीकृत समाजवादी मिल्न जाने त होइनन् भन्ने देउवाको संसयलाई केही हदसम्म टारिदिएको छ ।
एमाले अध्यक्ष ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको भन्दै अन्यसँग एकताको कुरा नहुने बताएका थिए । पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार घनश्याम भूसालले वाम एकताको प्रस्ताव ल्याएको भए पनि अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपालको पार्टी र मान्छे दुवै वामपन्थी नभएको बताए ।
ओलीले पार्टी आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्ने बताए । उनले वामपन्थीसँग एकता नभइ आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल हुने बताएका थिए । आफू बाहेक अरु वामपन्थी नरहेको र उनीहरुसँग गठबन्धन हुन नसक्ने ओलीले बताइरहँदा देउवालाई राहत भएको छ ।
देउवाको संसय भने प्रचण्डले केही दिनअघि बढाइ दिएका थिए । गत मंगलबार बुटवल पुगेर प्रचण्डले कांग्रेसले महत्व नदिए एमालेसँग पनि गठबन्धन हुन सक्ने बताएका थिए । नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने प्रचण्डको थियो । ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ, कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ’ प्रचण्डको भनाइ थियो ।
कांग्रेस नेताहरुबीच कुरा बाँझिदा गठबन्धनका दुई दल माओवादी र एकीकृत समाजवादीले देउवाबाट गठबन्धनका बारेमा स्पष्टा खोजेका थिए र बिहीबार नेताहरुबीच छलफल भएको थियो । देउवाले त्यसमा सकारात्मक जवाफ दिएको भन्दै नेताहरुले आफूहरुलाई ब्रिफिङ गरेका छन् ।
तर स्थानीय तहको चुनावमा सबै तिर गठबन्धन गर्न भने सहज नभएकाले स्थानीय स्तरमा आवश्यकताको आधारमा गर्न सकिने र एमालेलाई साइजमा ल्याउन सकिने ती दलहरुबीचको समान धारणा रहेको छ ।
उता एमालेले भने लोकतान्त्रिक समाजवादी, राप्रपासहितका दलहसँग गठबन्धन गर्न सक्ने चर्चा चलिरहेको छ ।
कांग्रेसले एक्लै चुनाव लड्न खोजे पनि माओवादी र एकीकृत समाजवादीको जनाधार कमजोर रहेको र स्थानीय तहमा एमालेको अवस्था गत निर्वाचनमा पनि बलियै भएकाले गठबन्धन हुने/ नहुने कुराले आगामी स्थानीय तहमा प्रभाव पार्ने देखिन्छ । file photo