Logo

सत्ताले संगीत सुन्न सक्दैन



काठमाडौं, चैत ८ । २०७४ सालको चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वाक्य सबैजसो कार्यक्रममा दोहो¥याए ।

कुनै पनि कार्यक्रममा सहभागी भएर बढीमा १५ मिनेट भाषण गर्ने देउवाले नछुटाउने वाक्य थियो ‘कम्युनिस्टले जिते भने रुन पनि पाइँदैन ।’ उनको यो भाषण तत्काल चुनावी कार्यक्रम खपतका लागि मात्रै थियो । स्वयं कांग्रेस कार्यकर्ताहरू पनि देउवाको सो वाक्य चुनावी खपतका लागि हो भन्नेमा सहमत थिए ।

वाम गठबन्धन भर्सेस नेपाली कांग्रेसबीच भएको निर्वाचन शन्तिपूर्ण रूपमा सम्पन्न भयो । वाम गठबन्धनका नेताहरूले चुनावअघि प्रक्षेपण गरेजस्तै आयो चुनावी परिणम वाम गठबन्धनले स्पष्ट बहुमत पायो । कांग्रेस प्रमुख प्रतिपक्षमा सीमित भयो । दुई तिहाइ समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भए तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली । ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा बनाएर ओली सरकार अघि बढ्यो ।

मुलुकमा पहिलोपटक वाम गठबन्धनको सरकार बनेकोमा वाम विचार बोक्ने आमकार्यकर्ता मख्ख थिए । सरकारले पनि देश विकासका महत्वकांक्षी योजना सार्वजनिक गर्दै थियो । जनताका दैनिकीमा कुनै फेरबदल आएको थिएन । अपेक्षासँगै असन्तुष्टि चुलिँदो थियो ।

बेरोजगार बढ्दै थिए । सरकारले देशमै रोजगार उपलब्ध गराउनेभन्दा पनि पासपोर्ट बेच्ने र रेमिट्यान्सबाट देश चलाउने योजना थाँती राखेकै थियो । महँगी बढ्दो थियो । प्रशासनिक चुस्तता छँदै थिएन । यिनै बेथिति माथि व्यंग्य गर्दै गायक पशुपति शर्माले एउटा गीत गाए ‘लुटन सके लुट कान्छा‘।’

आमदर्शकले मन पराएको पशुपतिको गीतलाई सरकारले भने ठ्याक्कै आफ्नो विरोधका रूपमा बुझ्यो । सरकारको आशय बुझेका नेकपाका भ्रातृसंस्थाहरूले सामाजिक सञ्जालमार्फत पशुपतिको उछित्तो काढे । धनगढीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले मञ्चमै उभिएर पशुपतिको आलोचना गरे । पशुपतिले थेग्न सकेनन् र युट्युबबाट गीत हटाउन बाध्य भए ।

पशुपतिले गीत गाएको तीन वर्षपछि अर्का गायक प्रकाश सपुतले ‘पीर’ शीर्षकमा फेरि अर्को गीत गाए । देशको मुहार परिवर्तन गर्छु भन्दै ‘जनयुद्ध’मा होमिएका माओवादी कार्यकर्ताले वर्तमानमा भोगेको नियतिमाथि ‘पीर’ गीत र भिडियो केन्द्रित थियो ।

अहिले सत्तामा रहेको माओवादीले प्रकाशको ‘पीर’ले समग्र माओवादीमाथि नै प्रहार गरेको बुझ्यो । माओवादी कार्यकर्ताले युट्युबबाट गीत हटाउनुपर्ने आवाज व्यापक उठाए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्