Logo

एनआरएनए महासचिवमा निर्वाचित भएपछि जोशीले भने–यो मेरो लागि अवसर र चूनौति दुवै हो



काठमाडौं, १४ चैत्र । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनबाट महासचिव चयन भएका गौरीराज जोशीले पदीय जिम्मेवारीअनुसार विदेशमा बस्ने नेपालीको हकहितको लागि काम गरेर देखाउने विश्वास दिलाएका छन् ।

महासचिवमा निर्वाचित भएको भोलिपल्ट आज (सोमबार) सामाजिक सञ्जाल फेशबुकमार्फत जोशीले यस्तो उल्लेख गरेका छन् । उनले आफूलाई प्राप्त महासचिवको जिम्मेवारी अवसर र चूनौति दुवै भएको पनि उल्लेख गरे ।

उनले फेशबुकमा लेखेका छन्–

यस पटक केही असहज परिस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन र नेतृत्व चयन भएको छ । यो अधिवेशनले मलाई महासचिवको जिम्मेवारी दिएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो ।

मेरो विचारमा पद लिने मात्र महत्वपुर्ण होइन । पदिय जिम्मेवारी अुनसार विदेशमा वस्ने नेपालीको हक हितका लागि काम पनि गरेर देखाउनुपर्छ भन्ने पक्षमा म छु । म महासचिव रहंदा विदेशमा वस्नै नेपाली समुदायको हक हितका लागि मेहिनेतका साथ काम गर्ने छु भन्ने विश्वास यहांहरुलाई दिलाउन चाहान्छु । मेरो काम हेरेर १८ महिना पछि यहांहरुले मलाई पुन वधाई दिनुभयो भने मात्र म आफुलाई सफल भएको मान्ने छु ।

विगत केही महिना यता एनआरएनए भित्र जे भयो त्यो हुन हुदैनथ्यो भन्ने यहांहरुको भनाईसंग म पनि सहमत छु । संस्था ठुलो हुदै जांदा एउटा कालखण्डमा विभिन्न धारणाहरु आउनु अस्वभाविक भने होइन । यसवाट पाठ सिकेर हामी विदेशमा वस्ने नेपाली एकजुट भएर अगाडी बढ्यौ भने हाम्रो उद्देश्य प्राप्ति अझ सहज हुने छ भन्ने मलाई लागेको छ ।

विदेशमा वस्ने नेपालीका थुप्रै मुद्दाहरु छन् । विदेशमा मेहिनेत गरेर कमाएको पैसाले घरका लागि एउटा टेलिभिजन ल्याउंदा कति इन्च भनेर सोधिन्छ । विदेशमा कमाएको पैसा स्वदेशमा लगानी गर्न खोज्दा झमेलाहरु छन् । नेपाली नागरिकताको निरन्तरता हुदां देशलाई कुनै बेफाइदा छैन । फाइदा मात्र छ । यसवारेमा हामीले अझ राम्रोसंग वुझाउन सकेका छैनौ ।

हाल नेपालका आर्थिक तथ्यांकहरुले संकट आउने संकेत गरिरहेका छन् । विदेशी मुद्राको संचिति घटेको छ । यो संकटलाई कम गर्न हामीले सरकारसंग मिलेर काम गर्न सक्छौं । विदेशमा वस्ने नेपालीको बचतलाई देशमा लगानी गर्ने उद्देश्यले स्थापना भएको १० अरब रुपैंयाको एनआरएनए लगानी कोषको काम अगाडी वढेको छ । यसलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती छ ।

हामी विचको मजबुत संजालनै हाम्रो बल हो । मिलेर जांदा हाम्रा मुद्दाहरु राख्न सहज हुन्छ । अव आग्रह र पुर्वाग्रह राखेर कसैलाई पनि फाइदा छैन । गोलवद्ध भएर उत्साहका साथ अगाडी वढ्दै एनआरएनए अभियानलाई अगाडी लैजान म सधै सकरात्मक र तत्पर रहने छु ।

एनआरएनए अभियानमा लाग्नु भएका सवैको सहयोग, सुझाव र सल्लाहका लागि म अनुरोध गर्दछु । यसले मलाई महासचिवको जिम्मेवारी अनुसार काम गर्न अझ प्रेरणा र हौसला मिल्ने छ । मलाई साथ दिनु हुने सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

गौरीराज जोशी
महासचिव
एनआरएनए 



प्रतिक्रिया दिनुहोस्