Logo

स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन हुन सक्छः रामहरि खतिवडा



ओखलढुंगा, १४ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आगामी चुनावमा कतिपय ठाउँमा गठबन्धन हुन सक्ने बताएका छन् । ओखलढुंगाको खिजीदेम्बामा नेपाली कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले उनले स्थानीय आवश्यक्ता र औचित्यताका आधारमा गठबन्धन हुने उल्लेख गरेका हुन् ।

‘हाम्रा नेताहरू गठबन्धनको सरकारमा हुनुहुन्छ । हामी कतिपय ठाउँमा गठबन्धन गन पनि सक्छौं’, उनले भने, ‘स्थानीय आवश्यक्ता र औचित्यताका आधारमा । स्थानीय जनता, स्थानीय साथीहरूले आवश्यक्ता ठान्छन् भने केन्द्रमा गठबन्धन भएका दलहरूसँग गठबन्धन गरेर जान सकिन्छ ।’

नेता खतिवडाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कार्यकर्ता नपाएपछि करिश्मा मानन्धर र कोमल ओलीहरूलाई टीका लगाएर पार्टीमा भित्र्याउने गरेको बताएका छन् । उनले भने, ‘करिश्मा मानन्धर र कोमल ओली खोज्दै हिँडेका छन् । कार्यकर्ता पाउन सकेका छैनन् ।’

‘दुईतिहाई बहुमत दिएर पठाएको नेकपाको सरकार ओलीको अहंताले ९ महिना अगाडि तपाईहरूले देख्नुभयो ढल्यो । साढे तीन वर्ष केन्द्रदेखि प्रदेशसम्म दुईतिहाइ भएको सरकार टिक्न सकेन’, खतिवडाले भने, ‘कांग्रेससँग सिगौरी खेल्दाको परिणाम धुजाधुजा भएर आज केपी ओली कोही मान्छे नपाएर हिरोनीहरूलाई सिन्दुर लगाउँदै हिँडेका छन् ।’

‘ओलीका कार्यकर्ता माधव नेपाल, रामकुमारी झाक्रीलेहरू छोडेर गए’, खतिवडाले भने, ‘ओलीलाई छोडेर गएपछि कहिले कोमल ओली, करिश्मा मानन्धरलाई टीको लगाउँदै भन्छन् हामीसँग कलाकारहरूको भण्डार आउन लाग्यो । देख्नुभयो कार्यकर्ताले छोडेर गएपछि को ल्याउने र? कस्ता ल्याउने ? टुंडीखेल र दशरथ रंगशालामा बाबुराम भट्टराईको टीका लगाउन हिँड्ने करिश्मा मानन्धरफेरि केपी ओलीकोमा आएर पार्टी परिवर्तन गर्दै यो कस्तो पद्धति होला र?’

‘पार्टी धेरै परिवर्तन गर्ने, धेरै श्रीमान् फेर्ने महिला र धेरै पत्नी फेर्ने पुरुषलाई जस्तै जनताले विश्वास गर्दैनन् । उनीहरू त्यस्तै हुन्’, कांग्रेस नेता खतिवडाले भने
‘माओवादीलाई गाली गर्न चाहन्न । प्रचण्ड संविधान सभामा थिएनन् भने संविधान बन्दैन थियो । उनले आफ्नो पार्टी टुक्र्याए । बाबुरामलाई छोड्न तयार भए । बैद्यलाई छोड्न तयार भए । विप्लवलाई छोड्न तयार भए । तर, संविधान बनाउन तयार भएर संविधान रोजेर आज यो संविधान निर्माण भयो ।’–
खतिवडाले भने ।

‘त्यसरी बनाएको संविधान केपी ओलीसँग गएर रक्षा गर्न सकिन्छ कि भनेर प्रचण्ड जानुभयो’, नेता खतिवडाले भने, ‘केपी ओलीले तीन वर्षको बीचमा प्रचण्डलाई बालुवाटारको एउटा कोठामा रुङ्ग्ने गोठालाका रुपमा मात्रै स्थापित गरे । पार्टीको रुपमा स्थापित गरेनन् । त्यसैले आज प्रचण्डले उनलाई छोडेर आउने अवस्था सिर्जना भयो ।’

कार्यक्रममा ओखलढुंगाका पार्टी सभापति तेजेन्द्र खनाल, नेताहरू जितेन्द्र ठकुरी, कुमार लुइँटेल, पूर्व सभापति महेश कोर्मोचा, नेता बालकृष्ण दाहाल, नवीन राई लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्