Logo

जुम्लाका बाढीपीडितलाई प्रतिपरिवार ४१२ रुपैयाँ



जुम्ला, चैत २१। जुम्ली किसानले मार्सी बीउ ब्याडमा छर्ने दिन । साथै, विसुवा पर्व पनि । जुम्ली किसानका लागि गौरवको दिन । यहाँको कृषि क्यालेन्डरअनुसार प्रत्येक वर्ष १२ चैतमा भिजाएको मार्सीको बीउ २० चैतमा ब्याडमा छर्ने गरिन्छ ।

तर, यो वर्ष भेरिखोलाको सर्मी गाउँ, तिलाका नुवाकोट, रावतबाडा, साँपुल्लीलगायत गाउँका किसानले मार्सी बीउ राख्न सकेनन् । गत ३ कात्तिक राति १२ बजे उर्लेर आएको भेरिखोलाले मार्सी फाँट बगर बनायो ।

यो वर्षको विसुवा पर्व क्षतिग्रस्त क्षेत्रका किसानका लागि पीडादायी भयो । यतिबेला मार्सी फल्ने फाँटमा छरिएको जौंको हरियाली चित्र बोकेर बसन्त आउन्थ्यो । तर, यो वर्ष भेरिखोला क्षेत्रमा उजाड छ । खेतमाथि भेरिखोला बगिरहेको छ ।

किसानका अनुहारमा पीर, मर्का र थकानका दृश्य झल्किरहेका छन् । प्राकृतिक विपत्तिले रित्तो बनाएका किसानलाई सरकारले अर्को पीडा थपेको छ । बाढीले सर्वस्व लुटेर लिएको ६ महिनापछि सरकारले पीडित किसानलाई प्रतिपरिवार ४ सय १२ रुपैयाँका दरले राहत पठाएको छ ।

सरकारले जिल्ला विपद् व्यवस्थापन समितिको खातामा १ हजार २ सय १२ बाढीपीडितलाई पाँच लाख पठाएको छ । बाढीले जुम्लाका दुई दर्जन पानी घट्ट, दर्जन विद्युत् गृह, झण्डै डेढ सय भेंडाबाख्रा, दुई घर बगायो भने १८ दशमलव ७३ हेक्टर मार्सी फाँट बगरमा परिणत भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्