Logo

काभ्रेपलाञ्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा



काभ्रेपलान्चोक, २१ चैत्र । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो ।

सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिने भएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गरेका हुन्।

यसैबीच काभ्रे कोरोनामुक्त भएको छ । दश दिनयताको परीक्षणका क्रममा कोही पनि व्यक्ति कोरोनाबाट सङ्क्रमित भएका छैनन् । कोहीमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिएमसी)ले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईंका अनुसार यसअघि गत मङ्सिरमा जिल्ला कोरोनामुक्त भएको थियो । जिल्लामा हालसम्म १७ हजार ५५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने १९५ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्