Logo

हाम्रो अर्थतन्त्र प्यानिक गर्ने अवस्थामा पुगेको छैन् : अध्यक्ष अग्रवाल



काठमाडौं, २३ चैत्र । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या हल गर्न सकिने विश्वास दिलाए । सरकारले अर्थतन्त्र सुधारको लागि चालेको कदम पनि सकारात्मक रहेको उनको भनाई छ । उनले श्रीलंकाजस्तो नेपालमा पनि समस्या हुन्छ कि भन्ने चर्चा भैरहेको उल्लेख गर्दै त्यस्तो अवस्था नरहेको स्पष्ट पारे ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । अग्रवालले भने,‘विगत केही समयदेखि अर्थतन्त्रको बारेमा धेरै कुरा पब्लिकमा आएको छ । अहिले दुई किसिमको समस्या झेल्नुपरेको छ । एउटा आर्थिक तरलता र अर्को ब्यालेन्स अफ पेमेन्ट बिग्रिएको छ । जुलाई महिनामा हाम्रो ११ महिनालाई आयात धान्नसक्ने ब्यालेन्स अफ पेमेन्ट थियो । अहिले अनौपचारिक रुपमा एल.सी. खोल्न बन्द गर्न भनिएको छ, हाम्रो अर्थतन्त्र प्यानिक गर्ने अवस्थामा पुगेको छैन् ।’

अहिले अर्थतन्त्र सुधारको लागि सरकारको तर्फबाट चालिएको स्टेप राम्रै रहेको उनको तर्क छ । उने भने,‘नेपालको अवस्था पनि श्रीलंकाजस्तै हुने हो कि भन्ने भयको वातावरण सिर्जना भएको छ । हाम्रो अवस्था त्यस्तो छैन् । हाम्रो राजश्वपनि ठीक तरिकाले अघि बढिरहेको छ । आयातलाई सर्टेन लेभलसम्म कन्ट्रोल गर्नु ठीक हो । तर, प्यानिकको वातावरण सिर्जना गर्नुहुँदैन् । यस्तो नगर्न सुझाव छ । रेमिट्यान्स फर्मल च्यानलबाट पठाउन भन्नुपर्छ।’

उनले विदेशी रकम सञ्चितीको लागि सरकारले गैरआवासीय नेपालीहरुलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । उनले भने,‘ सरकार र एनआरएनएबीच विश्वासको वातावरण बनाउनुपर्छ । उनीहरुको मनमा भएको संशय हटाउनुपर्छ। सरकराले दीर्घकालिन योजना बनाएर काम गर्नुपर्छ । हामीले आफ्नो तर्फबाट सुझाव पनि दिएका छौं ।’

 

 



प्रतिक्रिया दिनुहोस्